अन्तर्राष्ट्रिय

हसिनाको कुर्सीमा युनुस, शान्ति पुरस्कार विजेतालाई द्वन्द रोक्ने जिम्मा


काठमाडौँ – बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि आज अन्तरिम सरकार गठन हुने भएको छ । यसका लागि अन्तरिम सरकारको प्रमुखमा नियुक्त मुहम्मद युनुसले आज साँझ शपथ लिँदैछन् । नोबेल पुरस्कार विजेता युनुसले शपथसंगै १५ सदस्यीय अन्तरिम सरकारको नेतृत्व गर्नेछन् ।

एक महिनादेखिको विद्यार्थीहरुको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले गत सोमबार राजीनामा दिएर देश छाडिन् । ७६ वर्षीया हसिनाले राजीनामा दिएपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन रोकिएको छ । तर हिन्दु र बौध धर्ममाथिको प्रहार भने जारी नै छ ।

१७ करोड मानिस बसोबास गर्ने बंलादेशमा ९० प्रतिशत मुस्लिम धर्म मान्नेहरु छन् । जसले गर्दा यहाँ विपरीत आस्था भएका मानिसहरू बेलाबेलामा अतिवादीहरूको आक्रमणमा पर्ने गरेका छन् । शेख हसिना देशबाट भागेपछि हिन्दूहरूमाथिको आक्रमण बढेको छ भने धन, सम्पत्ति लुटपाट तथा हिन्दु मन्दिरहरु तोडफोडका घटना बढेको छ ।


यता देशभित्र सुरक्षा चुनौती बढेपछि बंगलोदश छाड्न चाहने बंगलादेशी नागरिकहरु छिमेकी देशको सीमामा भेला हुन थालेका छन् । बंगलादेशबाट विस्थापित हुन खोज्नेहरु भारत प्रवेशका लागि भारत–बंगलादेश सीमा क्षेत्रमा भेला भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हसिनाको पलायनपछि मुस्लिम बहुल बंगलादेशका हिन्दुहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरलाई निसाना बनाउन थालिएको छ । जसले गर्दा हजारौँ बंगलादेशी हिन्दुहरू भारतसँगको सिमानामा भेला भएका छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री हसिनाका छोरा वाजेद जोयले अवामी लिग समाप्त नभएको प्रतिक्रिया दिएका छन् । एक भिडियो सन्देशमा जोयले अवामी लिग बिना बंगलादेशमा लोकतन्त्र र निर्वाचन सम्भव नहुने जिकिर गरेका छन् । उनले नागरिक, अवामी लिगका कार्यकर्ता र अल्पसंख्यकमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

हसिनाले देश छोडेर भारत पलायन भएपछि लामो समयदेखि हसिनाको राजनीतिक प्रतिद्वन्द्वी रहेका नोबेल पुरस्कार विजेता मुहम्मद युनुस देशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । हसिनाले राजीनामा दिएपछि राष्ट्रपतिले मङ्गलवार संसद् विघटन गरेका थिए । हाल ८४ वर्षका युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूलेसमेत समर्थन गरेका छन् । ग्रिस्मकालीन ओलम्पिकमा सहभागी हुन फ्रान्सको पेरिसमा रहेका युनुस बंगलादेशको राजधानी ढाका फर्किसकेका छन् ।

अन्तरिम सरकारको नेतृत्व युनुसले गर्ने टुंगो लागे पनि यो सरकारमा अरु को को समेटिने छन् भन्ने निश्चित भएको छैन । तर, विभिन्न नामको सूचीलाई लिएर राजनीतिक क्षेत्रमा चर्चा भइरहेको छ । विद्यार्थी आन्दोलनका नेताहरूले सरकारमा दुई प्रतिनिधि चाहेको उल्लेख गरिएको छ । तर, ती दुईको नाम भने खुल्न सकेको छैन । यसबाहेक राष्ट्रपति शाहबुद्दीनले पनि आफू निकट दुई जनालाई सरकारमा सहभागी गराउन खोजेका छन् । अन्तरिम सरकार प्रमुख युनुसले भने देशलाई अराजकता र हिंसाबाट जोगाउन सबैलाई आह्वान गरेका छन् ।

‘यदि ममाथि विश्वास छ भने देशमा कहीँ पनि आक्रमण नगर्नुहोस्,’ उनले भनेका छन्, ‘यो हाम्रो पहिलो जिम्मेवारी हो ।’ प्रधानमन्त्री हसिनाले सत्ता छाडेको तीन दिनपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार पाएको हो । बंगलादेशमा गरिबी न्यूनीकरणको कार्यमा महत्वपूर्ण भूमिका खेलेका समाज सेवी तथा अर्थशास्त्री युनुसको नेतृत्वले देशको राजनीतिक भविष्य कतातर्फ डोहो¥याउँछ ? त्यो हेर्न भने केही दिन कुर्नु पर्ने देखिन्छ । चुनौतीको चाङमा रहेका युनुसले चाल्ने कदमले बंगलादेशमा शान्ति र स्थायित्व छाउने अपेक्षा गरिए पनि अझै मत्थर हुन नसकेको विद्यार्थी आन्दोलनबारे शंशय र प्रश्न भने कायमै छ ।