Breaking

उडेको ३ मिनेटमै खस्यो हेलिकप्टर, प्रत्यक्षदर्शीको बयान, ४५ वर्षमा ४० दर्दनाक दुर्घटना (भिडियोसहित)


काठमाडौँ— काठमाडौंबाट रसुवाका लागि छुटेको एअर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् । ११ जनाको ज्यान जानेगरी भएको सौर्य एअरको विमान दुर्घटना सहित १४ दिनमै २३ जनाले ज्यान गुमाएका छन् । यसले नेपालको हवाइ सुरक्षामा अर्को गम्भीर प्रश्न खडा गरिदिएको छ ।

नेपाली आकाशमा १४ दिनको अन्तरालमै दुई हवाई दुर्घटना भएका छन् । साउन ९ गते मात्रै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै १८ जनाको ज्यान जानेगरी सौर्य एयरलाइन्सको कहाली लाग्दो विमान दुर्घटना बिर्सन नपाउँदै बुधबार नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । अर्थात १५ दिनमै २३ जनाले हवाई दुर्घटनामा ज्यान गुमाएका छन् । काठमाडौंबाट रसुवाका लागि उडेको ९एन एजेडी कल साइन हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–५ सूर्यचौरमा दुर्घटनामा परेको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।


रसुवा उड्नु अघि यो हेली लुक्लाबाट काठमाडौं फर्किएको खुलेको छ । हेलिकप्टर कम्पनीका अनुसार राम्रो कन्डिसनमा रहेको हेलिकप्टर काठमाडौंबाट ४ जना चिनियाँ नागरिक लिएर दिउँसो १ः५४ बजे रसुवाको स्याफ्रुबेसी उडेको थियो । स्याफ्रुबेसीबाट पाँच यात्रु लिएर आउने तयारी थियो । तर, काठमाडौंबाट हेलिकोप्टर उडेको करिब तीन मिनेटपछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क टुटेको थियो । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सियाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल रहेका छन् । आधिकारिक रुपमा दुर्घटनाको कारण खुल्न सकेको छैन । तर दुर्घटनास्थलमा बिहानैदेखि बाक्लो कुहिरो लागेकाले खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । कतिपयले पहाडमा ठोक्किएर दुर्घटना भएको पनि बताइरहेका छन् । तर प्रत्यक्षदर्शीहरुले भने हेलिकोप्टर दुर्घटनास्थल खोँचजस्तो ठाउँ रहे पनि पहाडमा ठोक्किने सम्भावना नरहेको बताएका छन् ।

यसअघि पनि दुर्घटनामा परेका थिए पाइलट मल्ल
बुधबार दुर्घटनामा परेका पाइलट मल्ल यसअघि पनि हेलिकोप्टर दुर्घटनामै परेका थिए । २०७० असोजमा पाइलट मल्लले उडाएको एयर डायनेस्टीकै ९एन–एइएक्स (एएस–३५०) हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको थियो । त्यतिबेला मल्लसहित ५ जना दुर्घटनामा बाँच्न सफल भएका थिए । तर, नुवाकोट दुर्घटनामा उनले ज्यान जोगाउन सकेनन् । काठमाडौंका स्थायी बासिन्दा मल्लले ३० वर्षदेखि हेलिकोप्टर उडाउँदै आएका थिए । उनले कर्णाली एअरको हेलिकोप्टरबाट उडान थालेका थिए । बुधबार दुर्घटना भएको हेलिकप्टर २०७९ चैत २९ गते ह्याम्स अस्पतालको छतमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । तर त्यसबेला कुनै मानवीय क्षति भएको थिएन ।

नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहास
नेपालमा हेलिकोप्टर दुर्घटनाको इतिहास हेर्दा पछिल्लो ४५ वर्षमा भएका ४० दुर्घटनामा ९७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो पटक २०८० असार २६ मा मनाङ एअरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । नागरिक उड्ययन प्राधिकरणका अनुसार पहिलो दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा लाङटाङमा भएको थियो । भीभीआईपी हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । त्यसपछि सन् १९९३ अप्रिल २७ मा लाङटाङमै हिमालयन हेलिकप्टर दुर्घटनामा प¥यो । तर मानवीय क्षति भने भएन । पछिल्लो पटक २०२३ जुुलाई ११ अर्थात २०८० असार २६ मा मनाङ एअरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । जसमा ६ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बैशाख २२ मा सिम्रिक एअरको हेली दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।
२०७५ फागुन १५ अर्थात सन् २०१९ फेब्रुअरी २७ मा एअर डाइनेस्टीकै हेलिकोप्टर ताप्लेजुङको तारेभिरमा दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । नेपालको इतिहासमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना पनि ताप्लेजुङ मै भएको थियो । सन् २००६ अर्थात २०६३ असोज ७ मा श्री एअरको हेली ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो । जहाँ बहालवाला मन्त्री गोपाल राई सहित देशका होनाहार भुगोलविद्, संरक्षणविद्ले ज्यान गुमाएका थिए । त्यसअघि सन् २००२ मा एसियन एअरको जहाज सोलुखुम्बुमा दुर्घटना हुँदा त्यसमा सवार ११ जनाकै मृत्यु भएको थियो ।
नेपालमा सन् २००० पछि धेरै हेलिकोप्टर दुर्घटना बढेको र २००६ मा सबैभन्दा बढी दुर्घटना भएको तथ्यांकले देखाउँछ । दुर्घटनैपिच्छे छानविन समिति गठन गर्ने र झारा टार्ने प्रवृत्ति बढ्दै गएको छ । तर, दुर्घटना रोक्ने ठोस रणनीति बनाउन सरकार र नागरिक उड्ययन प्राधिकरणले ठोस पहल लिएको देखिँदैन । प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक भएपछि मात्रै ८ वटा हवाई दुर्घटना भइसकेका छन् । तर, यसको नैतिक जिम्मेवारी लिनुको साटो दोषारोपण गर्दै उनी पन्छिरहेका छन् । साथै, हवाई दुर्घटनाका घटना बढ्दा पनि सरकार र सरकारमा रहेका जिम्मेवार मन्त्रीले नैतिकता प्रस्तुत नगर्नुले यस्ता दुर्घटनामा सम्बन्धित निकाय कति जिम्मेवार छन् ? भन्ने कुरा उदांगिएको छ ।

नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै सन् २०१४ यता नेपाल युरोपियन युनियनको कालो सूचीमा छ । तर १५ दिनको अवधिमै भएका दुई हवाई दुर्घटनाले कालो सूचीबाट हट्ने सम्भावना सेलाउँदै गएको छ भने नेपाली आकाश असुरक्षित बन्दै गएको सन्देश प्रवाह भएको छ ।