Breaking

हसिनाका कारण हायलकायल मोदी, अमेरिका र बेलायतकै तिरस्कार, धार्मिक द्वन्द्वको खतरा (भिडियोसहित)


काठमाडौँ— आरक्षण कोटाविरुद्ध विद्यार्थीहरुको मागलाई समयमा नै सम्बोधन गर्न नसक्दा बंगलादेश गम्भीर राजनीतिक संकटमा फसेको छ । शक्तिशाली प्रधानमन्त्री शेख हसिना छिमेकी मुलुक भारतमा आश्रय लिन पुगेकी छन् । बंगलादेशमा जारी संकटको सामाना सिंगो दक्षिण एसियाली मुलुकहरुले बेहोर्नु पर्ने त होइन ? बंगलादेश संकटको असर नेपालसँगै अन्य दक्षिण एसियाली मुलुकहरुमा के के हुन सक्छ त ?

दक्षिणपूर्वमा म्यानमारसँग सीमा जोडिएको बंगलादेशको अन्य सबै भूभाग भारतसँग सीमा जोडिएको छ । बंगलादेशको पूर्व पश्चिम र उत्तरी क्षेत्र भारतसँग सीमा जोडिएको छ । लामो सीमा क्षेत्र जोडिएको बंगलादेशमा विद्यार्थीहरुको आन्दोलन रणभूमिमा परिणत भएपछि सिंगो भारत तरंगित छ । शक्तिशाली प्रधानमन्त्री शेख हसिना आन्दोलनको दबाबले राजीनामा दिन बाध्य भइन् भने देश छाडेकी उनले हाल भारतमा शरण लिइरहेकी छन् । मुलुक छोडेर भारतमा शरण लिन पुगेकी हसिनालाई भारतको नरेन्द्र मोदी सरकारले भारतीय वायु सेना र कमान्डो परिचालन नै गरेर कडा सुरक्षा घेराभित्र राखेको छ । भारत–बंगलादेशबीचको दुईपक्षीय सम्बन्ध पुरानो र सामाजिक, आर्थिक नाता मात्र होइन कुटनीतिक हिसाबले समेत सिधा सम्पर्क रहँदै आएको छ । भागेर भारत पुगेकी हसिनालाई सुरक्षा दिइरहेको भारत भने आफैँ तनावमा छ । बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) ले तत्काल हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न आग्रह गरिसकेको छ । निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युको जिम्मेवार रहेकाले उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्ने आवाज उठिरहेको छ । बेलायत जान लागेकी हसिनालाई बेलायतले शरण दिन अस्वीकार गरिसकेको अवस्थामा हसिना जोगाउने जिम्मा भारतलाई छ । यसले बंगलादेश र भारतकै कुटनीतिक सम्बन्धमा खतरा मडारिने त होइन ? भन्ने भय बढेको छ । यसबाहेक बंगलादेश द्वन्द्वको चपेटामा परेको अवस्थामा नागरिकले देश छाडेर भारत प्रवेश गर्ने सम्भावना बढ्दा शरणार्थी समस्याको चिन्ता सुरु भएको छ । बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले धेरै मानिस विस्थापित हुन सक्ने आकलन गरिएको छ ।

मुस्लिम समुदायको बाहुल्य रहेको बंगलादेशबाट हिन्दु समुदाय भारत छिर्ने डर छ । सीमामा हुने सुरक्षा चुनौतीदेखि अन्य मानवीय संकट बढ्ने चिन्ता छ । कृषिमा मलदेखि भान्छामा चाहिने कृषि उत्पादन होस् या कपडा गार्मेन्ट उद्योगमा भारतलाई बंगलादेशले सहयोग पु¥याउँदै आएको थियो । बंगलादेश विद्रोहको चिन्ता भारतपछि जम्मा २७ किलोमिटरको दूरीमा रहेको नेपाललाई छ । भारतले सीमा सुरक्षामा कडाई गरेका कारण नेपाललाई केही राहत हुन सक्छ तर भारतसँग नेपालको खुला सीमा भएकाले यसैको फाइदा उठाएर विस्थापित बंगलादेशीहरु भारत हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ । जसले गर्दा नेपालमा पनि सुरक्षा चुनौती थपिने भय छ । भुटान, म्यानमार र अफगानिस्तानबाट विस्थापित भएकाहरु भारत हुँदै नेपाल प्रवेश गरेको तथ्य विगतमा छन् । अहिलेको अवस्थामा बंगलादेशबाट विस्थापित हुन चाहने बंगलादेशीहरुका लागि दक्षिण एसियाली मुलुकहरु भुटान, माल्दिभ्स् र श्रीलङ्का छिर्न त्यति सहज देखिँदैन ।

यी देशका सीमा क्षेत्रमा निक्कै कडाइ हुने भएकाले प्रवेश गर्न सहज छैन । तर पाकिस्तानबाटै बंगलादेश टुक्रिएकाले बंगलादेशीहरु प्रति पाकिस्तानले सहानुभूति राख्न सक्ने सम्भावना छ । पाकिस्तान सरकारले समेत बंगलादेशी नागरिकको पक्षमा आफू रहेको प्रतिक्रिया जनाइसकेको छ । यद्यपि, देश छाड्न चाहने बंगलादेशीहरुको गन्तव्य सार्कका सबै सदस्य राष्ट्रहरु हुन सक्ने देखिन्छ । अर्को महत्वपूर्ण पक्ष राजनीतिक अस्थिरताले गाँजेका मुलुकहरु उनीहरुका लागि सहज बन्न सक्छ । जसले गर्दा दक्षिण एसियाली मुलुकहरुलाई तत्काल शरणार्थी र सीमा सुरक्षाको चिन्ता बढ्न सक्ने देखिन्छ । यी सबै विषयलाई सहजीकरण गर्ने निकाय नहुनु अर्को जटिल समस्या हो ।

कपडा उद्योग, आईटी र औषधि उत्पादनमार्फत समृद्धितर्फ अघि बढिरहेको दक्षिण एशियाको उदयीमान बंगलादेश विद्यार्थीहरुको मागलाई समयमै सम्बोधन गर्न नसक्दा गम्भीर राजनीतिक संकटको चपेटामा छ । राजनीतिक अस्थिरता र बाह््य हस्तक्षेपलाई प्रश्रय दिँदा एकपछि अर्को दक्षिण एसियाली मुलुक आन्तरिक द्वन्द्वमा फस्दै गएका छन् । छिमेकमा राजनीतिक सकंट गहिरिँदा समेत सार्क राष्ट्रहरूको धारणा आउन नसक्नुले भविष्यमा हुने वैदेशिक ध्रुवीकरणमा दक्षिण एसिया झन झन कमजोर हुँदै जाने देखिन्छ । दक्षिण एसियाकै शक्तिशाली र विश्वकै पाँचौ ठूलो अर्थतन्त्र रहेको भारतको भूमिका विशेष रहनु पर्ने देखिन्छ । हाल भारतमै हसिनाले शरण लिइरहेको र बंगलादेशको आन्तरिक राजनीतिमा समेत प्रभाव राख्दै आएकाले बंगलादेशमा जारी संकटलाई समाधान गर्दै पूरै दक्षिण एसियामै शान्ति कायम गर्न भारतले नेतृत्वदायी भूमिका खेल्नु पर्ने विश्लेषण भइरहेको छ । दक्षिण एसियाली सबै मुलुकमा तरंग उत्पन्न गरिरहेको बंगलादेशको घटनाक्रम र यस क्षेत्रको शान्तिका लागि भारतले समन्वयकारी कस्तो भूमिका खेल्छ ? त्यो भने अहिलेसम्म निश्चित हुन सकेको छैन ।