काठमाडौँ— लामो समयदेखि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अहिले बंगलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी पाएका छन् । ८४ वर्षका युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको तीनदिन बित्दा पनि भड्किएको हिंसा अझै मत्थर हुने सङ्केत देखिएको छैन । बंगलादेशको सेनालेसमेत आन्दोलनलाई सम्हाल्न नसकेपछि विद्यार्थीले चाहेका तथा लामो समयदेखि बंगलादेशमा प्रधानमन्त्री हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेको छ । युनुसले अन्तरिक सरकारको नेतृत्व त सम्हाले तर हसिनाको पार्टीका नेतामाथिको आक्रमण रोकिएको छैन । हसिनाको पार्टी अवामी लिगमा आबद्ध नेताहरुमाथि कुटपिटदेखि हत्यासम्मको श्रृंखला जारी छ । देशभर फैलिएको विद्यार्थी आन्दोलन पछिल्लो समय अराजक र हिंसात्मक बन्दै गएको छ । जसका कारण हसिनाको पार्टीका नेताहरुको ज्यान जोखिममा पर्दै गएको छ । अवामी लिगका २९ जना नेताको शव फेला परेको बंगलादेशी अधिकारीहरुले बताएका छन् । प्रदर्शनकारीहरूले नेता र तिनका परिवारका सदस्यहरूको पनि हत्या गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले आफ्नो क्रोध सो पार्टीका नेता कार्यकर्तामाथि खन्याइरहेका छन् । सो पार्टीका कयौँ नेता र कार्यकर्ताको घर र व्यापारिक सङ्गठनमा तोडफोड तथा लुटपाट जारी छ । हसिना सरकारका मन्त्रीहरूमा एक खालको त्रास देखिएको छ । पछिल्लो अवस्थामा हसिनाको अवामी लिग पार्टीका कयौँ शीर्ष नेता र पूर्व क्याबिनेट मन्त्रीले देश छाडेका छन् ।
हसिनाको सत्ता ढलेसँगै बंगलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि पनि हिंसा भइरहेको छ । देशको २७ जिल्लामा हिन्दु र हिन्दु मन्दिरमा आक्रमण भएको छ । १७ करोडभन्दा बढी जनसंख्या भएको बंलादेशमा मुस्लिम धर्मावलम्बीको बाहुल्य छ । त्यसैले पनि उनीहरुको नजरमा अहिले हिन्दु धर्मालम्बी र मन्दिरमाथि परेको छ । बढ्दो तनावको अवस्थालाई अन्तरिम सरकार प्रमुख युनुसले कसरी नियन्त्रणमा लिन्छन् र शान्ति कायम गर्छन् ? यो उनका लागि सबैभन्दा पहिलो चुनौती देखिएको छ । हाल ग्रिस्मकालीन ओलम्पिकमा सहभागी हुन फ्रान्सको राजधानी पेरिसमा रहेका युनुस बिहीबार दिउँसो स्वदेश फर्किंदै छन् । स्वदेश फर्किएपछि उनले अन्तरिम सरकार प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।
यता बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एएम महबुब उद्दिन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री हसिना र उनकी बहिनी रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन् । भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युको जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा उनले जोड दिएका छन् । योसंगै हसिनालाई बंगलादेश फर्काउन भारतमाथि दबाब बढेको छ । भारतबाट लन्डन जाने चर्चा भइरहेको समयमा बेलायतले भारत र हसिनालाई झट्का दिएको छ । बेलायतले हसिनालाई शरण दिन नसक्ने जनाइसकेको छ । शरण माग्न चाहनेले सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबीच राजीनामा दिएर हसिना सेनाको विमानमार्फत दिल्ली उडेकी थिइन् । हसिनाले अमेरिकासँग पनि शरण मागेको समाचारहरुमा उल्लेख छ तर यो विषयमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । दिल्ली पुगेकी हसिनाको अब बेलायत जाने बाटो बन्द भएको छ ।
भारतलेसमेत हसिनालाई लामो समय शरण दिन नसक्ने संकेत गरेको छ । यसैबीच, हसिनाका छोरा वाजेद जोयले तत्काललाई हसिना भारतमै रहने बताएका छन् । एक विदेशी सञ्चारमाध्यमसँगको कुराकानीमा उनले तत्काल कहीकतै जाने हसिनाको योजना नरहेको र कुनै पनि देशसँग राजनीतिक शरण नमाग्ने प्रतिक्रिया दिएका छन् । जसले गर्दा हसिना अब भारतमै शरण लिएर बस्छिन् वा अन्य कुनै मुलुक प्रस्थान गर्छिन् ? हसिनाको आगामी गन्तव्य कता हुने हो अन्योलको अवस्था छ । तर, उनलाई शरण दिए पनि भारतमाथि सुपुर्दगीको दबाब बढ्न सक्ने देखिन्छ । यद्यपि, बंगलादेशले सुपुर्दगीका लागि औपचारिक आग्रह नगरेकाले अब बन्ने अन्तरिम सरकारले कस्तो कदम चाल्छ ? त्यसले पनि हसिनाको भविष्य निर्धारण गर्ने देखिन्छ ।
प्रतिक्रिया