राजनीति

अन्ततः शेख हसिनाको हार, १५ वर्षीय सत्ता ढल्यो, देश छोडेर भागिन्

योहो संवाददाता

बंगलादेशमा आरक्षण कोटाविरुद्ध चर्किएको विद्यार्थी आन्दोलनले राजनीतिक रङ्ग लिएसँगै प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।


सन् २००९ देखि लगातार बंगलादेशको सत्तामा रहेकी हसिनाविरुद्ध चर्किएको आन्दोलनले हिसांत्मक रुप लिँदै गएपछि उनले आज पदबाट राजीनामा दिएकी हुन् । राजीनामा लगत्तै उनी सेनाको जहाजमार्फत भारत उडेकी छन् ।

उनी भारतको राजधानी दिल्ली पुग्ने र त्यहाँबाट लन्डन प्रस्थान गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसपछि उनी फिनल्यान्ड वा अरु कुनै देश जान सक्ने आकलन भइरहे पनि यसबारे निश्चित हुन सकेको छैन । हसिनाले राजीनामा दिएर देश छाडेलगत्तै बंगलोदेशका सेना प्रमुख जनरल वकार उज जमानले अब सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । यस्तै, पछिल्लो विकसित घटनाक्रमकै कारण बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गर्ने सूचना जारी गरेको हो ।

बंगलादेशमा गत महिनादेखि आरक्षण कोटाविरुद्ध आन्दोलन चर्किदै आएको थियो । तर प्रधानमन्त्री हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । १७ करोड जनसङ्ख्या भएको बंगलादेशमा पछिल्ला केही दिनमा भएका प्रदर्शनले हिंसात्मक रुप लिँदा हालसम्म ३ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो दुई दिनमा मात्रै एक सय जनाको मृत्यु भएको छ । विद्यार्थीहरुले सुरु गरेको आन्दोलनले देशव्यापी रुप लिएसँगै राजनीतिक अस्थिरताको कारक बनेको छ । विश्वविद्यालय र कलेजका विद्यार्थीहरूले गरेको आन्दोलनले देशभरि नै अशान्ति, रक्तपात र अराजकता निम्त्याएको छ ।

सरकार विरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले राजधानी ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट र तोडफोड गरेका छन् । उनीहरुले कुर्सी र सोफा बोकेर दौडिएको भिडियो फुटेजमा देखिएका छन् । सरकारविरोधी आन्दोलनमा प्रदर्शनकारीले अराजकता पनि देखाएका छन् ।

आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । प्रधानमन्त्रीको सरकारी निवास कब्जा गर्ने उद्देश्यसहित प्रदर्शनकारी अगाडि बढेपछि असुरक्षित महसुस गरेकी हसिनासहित परिवारका सदस्यहरुले गणभवन छाडेका थिए । प्रधानमन्त्री निवास कब्जा गरेका प्रदर्शनकारीले विजय उत्सव नै मनाइरहेका छन् । राजीनामा दिएर हसिनाले देश छाडेसँगै सेना प्रमुखले अन्तरिम सरकार बनाउने तयारी भइरहेको घोषणा गरेका छन् । हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पुष्टि गर्दै सेना प्रमुख वाकर उज जमानले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेको अवस्थाको सारा जिम्मेवारी आफूले लिएको बताएका छन् । देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौँको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नु पर्नेमा उनले जोड दिएका छन् । उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै छिट्टै एउटा “समाधान निस्किने“ अपेक्षा गरेको बताएका छन् । यद्यपि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्छन् भन्ने स्पष्ट हुन बाँकी छ । विगत १६ वर्षदेखि लगातार बाङ्ग्लादेशको सत्ता हाँकेकी हसिनाले अन्ततः देश छाडेर विदेशमा शरण लिनु पर्ने अवस्था आएको छ । आन्दोलनमार्फत हसिनाको एकछत्र शासन सत्ता पल्टाएका प्रदर्शनकारीले अन्तरिम सरकार र त्यसपछिको राजनीतिक परिस्थितिलाई कसरी लिन्छन् ? साथै अशान्ति र अस्थिरता छाएको बंगलादेशमा कसरी राजनीतिक स्थायित्व कायम हुन्छ ? भन्ने विषय निकट भविष्यले निर्धारण गर्ने देखिन्छ ।