काठमाडौँ – इजरायलको आक्रमण’बाट हमास नेता इस्माइल हानिया मारिएपछि मध्यपूर्वमा थप युद्ध मच्चिने सम्भावना बढेर गएको छ । पछिल्लो १० महिनादेखि इजरायल र हमासबीचको संघर्ष जारी रहेको अवस्थामा हानिया इरानमा मारिएपछि त्यसले मध्यपूर्व क्षेत्र थप अशान्त बन्ने आकलन गरिएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासको शीर्ष राजनीतिक नेता इस्माइल हानियाको तेहरानस्थित निवासमा हत्या भएपछि मध्यपूर्वमा थप अशान्ति मच्चिने सम्भावना बढेर गएको छ । हमासले हानियाको हत्याको पछि इजरायल जिम्मेवार रहेको आरोप लगाएको छ । इरानका नयाँ राष्ट्रपतिको पदबहाली समारोहमा भाग लिएपछि तेहरानस्थित निवासमा जायनिस्ट (उग्र–यहुदी राष्ट्रवादी एवं सर्वोच्चतावादी) अर्थात हानिया हवाई आक्रमणमा मारिएका थिए । हानियाको मृत्युले यतिबेला मध्यपूर्वमा थप युद्ध चर्किन सक्ने खतरा बढेको छ । यसअघि इजरायलले हानियाका तीन छोराहरू हाजेम, आमिर र मोहम्मदकोसमेत हत्या गरेको थियो । गत अप्रिल १० मा गाजामा उनीहरू सवार कारमा इजरायलले हवाई हमला गरेको थियो ।
सो आक्रमणमा उनका तीन नातिनी र एक नातिको पनि ज्यान गएको थियो । त्यो बेला हानियाले भनेका थिए, ‘गाजाका हाम्रा सबै जनता र हाम्रा सबै परिवारले रगतको चर्को मूल्य चुकाउनुपरेको छ । म पनि त्यसैमध्ये एक हुँ ।’ हानियाको हत्यापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इजरायललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो ‘भूमिको अखण्डता, प्रतिष्ठा र सम्मान’ को प्रतिरक्षा गर्ने उद्घोष गरेका छन् ।
यसबीचमा इजरायली सेनाले हमासको सैन्य प्रमुख मोहम्मद जइफ गत जुलाई १३ तारिखमा एक हवाई आक्रमणमा मारिएको समेत दाबी गरेको छ । हानियाको हत्यालगत्तै इजरायली सेनाले हमासको सैन्य प्रमुख पनि मारिएको दाबी गरेको हो । खान युनुसको एक कम्पाउण्डलाई लक्षित गरी भएको आक्रमणमा उनी मारिएको इजरायलले खुलाएको छ ।
इजरायली सेनाले त्यसबेला हमासका कमान्डर राफा सलेमेह मारिएको जनाए पनि जइफको मृत्युबारे पुष्टि गरेको थिएन । बुधबार हमासले आफ्ना नेताको तेहरानस्थित आवासमा भएको आक्रमणमा परी मृत्यु भएको जनाएको थियो । उक्त आक्रमणमा हानियासँगै उनका बडीगार्डको समेत हत्या भएको हमासले जनाएको छ ।
हत्याले बृहत् क्षेत्रीय युद्ध भड्काउने सम्भावना
हत्यासँगै हाल दुई महत्वपूर्ण मुद्दा छन्, जसमाथि आगामी केही घन्टा र दिनमा विस्तृत रूपमा छानबिन हुनेछ । पहिलो इजरायल हानियाको हत्याका लागि जिम्मेवार हो भने इरानले यसको बदला लिने कि नलिने भन्ने प्रश्न खडा गर्छ । किनभने हानियाको मृत्यु हुँदा उनी इरानको संरक्षणमा थिए । उनको मृत्युले इरानमा ठूलो आक्रोश निम्त्याउने सम्भावना छ । त्यसैले इरानले इजरायलविरुद्ध हमासको माध्यमबाट तुरुन्त बदला लिन सक्छ । यसले बढ्दो तनाव र क्षेत्रीय अस्थिरताको सम्भावनामाथि जोड दिनेछ ।
किनभने इरानको प्रतिक्रियाले व्यापक भूराजनीतिक परिदृश्यलाई प्रभाव पार्न सक्छ । इरान र इजरायलबीच लामो समयदेखि तनाव रहँदै आएको छ । अप्रिलमा इजरायलले सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा गरेको आक्रमणको बदलास्वरूप इजरायलमा तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । हानियाको मृत्युपछि रुस, टर्की, इरान र कतारले उक्त आक्रमणको निन्दा गरेका छन् । तर अमेरिकाका रक्षामन्त्रीले हानियाको मृत्युबारे कुनै टिप्पणी नगरी मध्यपूर्वमा द्वन्द्व चर्किन्छ भन्ने आफूलाई नलागेको बताएका छन ।
हमास र इजरायलबीच मध्यस्थता गर्दै आएको कतारले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त आक्रमणलाई ‘गम्भीर अपराध’ भनेको छ । कतारको विदेश मन्त्रालयले उक्त घटनाबाट ‘अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको उल्लङ्घन’ भएको जनाएको छ । तर एक इजरायली मन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा हानियाको मृत्युका कारण विश्व राम्रो ठाउँ बन्ने जनाएका छन् ।
‘संसारबाट फोहोर हटाउने यो उपयुक्त तरिका हो’, एमिचे एलियाहूले एक्समा लेखेका छन् । उनले ‘अरू काल्पनिक शान्ति वा आत्मसमर्पण सम्झौता’ र ‘यी शत्रुहरूमाथि अरू दया’ गर्न नहुने तर्क गरेका छन् । तर इजरायललाई अमेरिकालगायत शक्ति राष्ट्रको साथ सहयोग रहेकाले इरानले सिधैँ दबाब बढाउन सक्ने अवस्था छैन ।
यद्यपि, इरानले हिज्बुल्लाह समूहलाई उक्साउने र इजरायलविरुद्धको संघर्षमा उतार्न सक्ने सम्भावना छ । यता शीर्ष नेता मारिएपछि हमासको संगठनमा उथलपुथल हुन सक्ने आकलन गरिए पनि त्यस्तो अवस्था नरहेको जानकारहरु बताउँछन् । हानियाले सम्हाल्दै आएको राजनीतिक ब्युरोका थुप्रै सदस्यहरु मध्ये एकले उनको स्थान लिनेछन् । तर हानियाको स्थान कसले लिन्छन् भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । इजरायलको एक अखबार हारेत्जकाअनुसार हमासका सबै नेता इजरायलको निसानामा रहेका छन् ।
हमासलाई सिध्याएरै छाड्ने इजरायलको उद्देश्य रहेकाले हमासले यस्ता क्षति थप बेहोर्नु पर्ने देखिन्छ । हानियाको हत्याले गाजा युद्ध र सम्भवतः मध्यपूर्वमा व्यापक युद्ध भड्किने सम्भावना छ । तर बढ्दो तनाव कम गर्न अमेरिकाले इरानमाथि जवाफी कारबाही नगर्न दबाब बढाएको छ ।
जसले मध्यपूर्वमा बढ्दो तनावलाई कम गर्दै शान्ति स्थापनाका लागि पहल हुने देखिन्छ । यद्यपि, यो मामिलामा इरान र इजरायल एकअर्काविरुद्ध कसरी प्रस्तुत हुन्छन् ? उनीहरु आमनेसामने हुने अवस्थालाई रोक्न अमेरिका, कतार लगायत अन्य राष्ट्रले कस्तो भूमिका खेल्छन् ? त्यसले पनि मध्यपूर्वको भविष्यलाई निर्धारण गर्ने देखिन्छ ।
प्रतिक्रिया