Breaking

हमासका युद्ध हाँक्ने कमान्डर इजरायलले मा¥यो, इरानमाथि शंका, जवाफी कारबाहीको डर (भिडियोसहित)


काठमाडौँ— इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका हुन् । उनी मारिएसँगै हमासको भविष्यबारे जिज्ञासा बढ्न थालेको छ भने उसले लिने आगामी रणनीति कस्तो होला ?

इजरायलको आक्रमणबाट हमासका नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका हुन् । हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो । जसका कारण उनी र उनका एक अंगरक्षकको मृत्यु भएको इरानी अधिकारीहरुले बताएका छन् । हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि बताएको छैन । तर इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका भएको प्रतिक्रिया दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आफ्ना मन्त्रीहरूलाई हानियाको हत्याबारे नबोल्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री नेतान्याहुको निर्देशनका बाबजुद मन्त्री इलियाहुको प्रतिक्रिया आएको हो ।
को हुन् त इस्माइल हानिया ?
इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख हुन् । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् । हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म गाजाको शरणार्थी शिविरमा सन् १९६३ मा भएको थियो । हानियाह हमासको स्थापनाकालदेखि नै प्रमुख सदस्य हुन् । उनलाई इजरायलले धेरै पटक कैद गरेको थियो र एक पटक त छ महिनाका लागि दक्षिण लेबनानमा निष्कासितसमेत गरेको थियो । सन् २००३ मा, उनी हमासका संस्थापकसँगै इजरायलद्वारा गरिएको हत्या प्रयासबाट बाचेका थिए । २००६ मा उनी प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त भएका थिए । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए ।

हानियालाई सन् २०१७ मे ६ मा हमासले राजनीतिक विभाग प्रमुखका रूपमा नियुक्त गरेको थियो । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो । पछिल्लो समय भने हानिया कतारमा बस्दै आएका थिए । यता इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले हानियाको मृत्युमा शोक व्यक्त गरेका छन्, उनलाई ‘गर्वकारी लडाकु’ को रूपमासमेत वर्णन गरेका छन् ।

इरानी विदेश मन्त्रालयको वेबसाइटका अनुसार, कनानीले हनियाको रगत “कहिल्यै खेर जाने छैन भनेका छन् । उनी भन्छन् कि ‘इरानले अनुसन्धान गरिरहेको छ, तर मृत्युले इरान र प्यालेस्टाइनबीचको “गहिरो र अटुट बन्धनलाई बलियो बनाउने छ ।’ गाजामा युद्धविराम सम्झौताको वार्तामा उनले प्रमुख भूमिका खेल्दै आएका थिए । हनियालाई धेरैले हमासको बढी व्यावहारिक नेताको रूपमा हेरेका थिए । हानियाले करिब छ वर्ष अघि नेता बनेदेखि १० देखि १५ पटक तेहरानको भ्रमण गरिसकेका थिए ।

उनले त्यहाँ जान सुरक्षित रहेको महसुस गर्दै आएका थिए । तर सुरक्षित ठानेको भूमिमै उनको हत्या भएको छ । यसमा प्रश्न उठ्न थालेका छन् । गत वर्षको अक्टोबर ७ देखि सुरु भएको हमास–इजरायल युद्धमा इजरायलमा एक हजार दुई सय जनाको मृत्यु भएको छ भने गाजामा कम्तिमा ३९,४०० प्यालेस्टिनीको हत्या भएको छ । मार्नु र मर्नुको संघारमा पुगेका यी दुई देशको युद्ध रोकिने कुनै संकेत देखिएको छैन । झनै आक्रमकरुपमा देखिएको इजरायलले हमासलाई खोजी–खोजी सिध्याउने रणनीति बनाएको देखिन्छ । हमास लडाकुसँग भिडिरहेको इजरायलले शीर्ष नेतालाई नै टार्गेट गर्न थालेको छ । हमासको राजनीतिक विभाग प्रमुख रहेका हानियाको हत्याले हमासलाई ठूलो क्षति पुगेको छ भने उसको आगामी रणनीति कस्तो हुनेछ भन्ने जिज्ञासा बढेको छ । आफ्ना शीर्षमध्येका प्रमुख एक नेता गुमाएको हमासले त्यसको बदलामा इजरायलविरुद्ध कस्तो कदम चाल्छ ? अहिले नै यसै भन्न सक्ने अवस्था छैन । हमासलाई सिध्याएरै छाड्ने इजरायलको उद्देश्य कति सफल हुन्छ ? यो विषय पनि प्रश्नको घेरामै रहने देखिन्छ । तर, इजरायलले हमासविरुद्ध देखाएको आक्रमकता र पछि नहट्ने हमासको अठोटले इजरायल र प्यालेस्टाइनबीच थप युद्ध चर्किने र लाखौँ नागरिक युद्धको चपेटामा पर्ने संकेत भने देखाएको छ ।