Breaking

प्रहरीभित्रै गुटबन्दी, हेडक्वाटरमा हल्लीखल्ली, चाप्लुसीले बद्नामी, क्ष्न्ए ले फेरे रङ्ग, रविका ज्ञवाली फसे (भिडियोसहित)


काठमाडौँ— व्यावसायिकताभन्दा गुलामीमा रमाउने अधिकारीहरुका कारण नेपाल प्रहरी बद्नाम हुँदै गएको छ । जसले राज्यकोभन्दा सत्तामा रहनेको भ्रातृसंगठन जस्तो प्रहरी संगठन बन्दा स्वयम गुलामी गर्नेहरुसमेत मारमा परेका छन् । बरु यसले नेताहरुलाई खेल्ने ठाँउ दिँदाप्रहरीलाई प्रयोग गर्ने होडबाजीसमेत बढेको छ ।

आफ्नो थैली बलियो कस्नु अरुलाई चोरको दोष नलाउनु भन्ने उखानको अवस्थामा नेपाल प्रहरी पुगेको छ । व्यावसायिकताभन्दा नेताहरुको गुलामीमा रमाउने उच्च अधिकारीहरुका कारण संगठनमात्र त्यसको मारमा परेको छैन स्वयम् उनीहरुको पनि प्रयोगको साधन बनेका छन् । त्यसको एक उदाहरण हुन् श्यामलाल ज्ञवाली । एआईजी ज्ञवाली तिनै पात्र हुन् जसलाई रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबी प्रमुखको जिम्मेवारी दिइएको थियो।नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका ज्ञवालीलाईउपत्यका प्रहरी कार्यालय प्रमुख भएर काम गर्दा पनि उनलाई साढे चार महिनामै हटाइएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पुर्याईएका उनी महानिरीक्षकको सपनासहित सीआईबीमा फड्को मारेको चर्चा थियो ।

सुन तस्करी प्रकरणमा तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यलाई छानविन समितिले दोषी देखाएपछि रविले ज्ञवालीलाई सो स्थानमा पुर्याएका थिए । तर आगामीभदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै गरेका ज्ञवाली अहिले छानबिनमा तानिएका छन् । पहिले पनि विवादित ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयकै प्रशासन विभागमा कार्यरत अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनेको छ । प्रहरी महानिरीक्षकको निर्देशनमा चल्ने सीआईबीका प्रमुख ज्ञवालीले आफूखुसी काम गरेकोदेखि आईजीपी वसन्त कुँवरको जानकारीबिना केहीलाई अभद्र व्यवहारमामुद्दासमेत चलाएको खुलेपछि छानबिन थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । त्यस्तै ६० किलो सुन तस्करी प्रकरणका केही आरोपीलाई आफूखुसी अभद्र व्यवहारको मुद्दा चलाउनेदेखि संगठनको हितविरुद्ध काम गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ । अर्थात राजनीतिक प्रयोगमा साथ दिएका ज्ञवाली अहिले त्यसैको मारमा पर्दैछन् । जहाँ हिजो रविका अघिपनि साखुल्ले पल्टिने र ज्ञवालीलाई त्यहाँ पुर्याउन सहयोग गर्ने महानिरीक्षक कुँवर अहिले कांग्रेस एमालेकोसरकारसँग पनि उस्तै व्यवहार देखाँउदै तीनै ज्ञवालीमाथि खनिदै छन् ।

हुन त नक्कली भुटानी शरणार्थी प्रकरणलाई सतहमा ल्याएका डीआईजी मनोष केसी समेत यसअघि नै सरुवा भइसकेका छन् । त्यो समेत सत्तामा फेरबदल हुनासाथ प्रहरीमा देखिने हस्तक्षेपकै एक उदाहरण हुँदा योबीचमा रवि गृहमन्त्री हुँदा डिआजी पोषराज पोखरेल दुई दिने एआईजीको दौडमा थिए । यसले समेत पालो पाए प्रहरी अधिकारीहरु कुनहदसम्म ओर्लिछन् भन्ने प्रष्ट पारेको छ । अर्को रोचक कुरा त के छ भने प्रत्येकपल्ट सिआईबीको नेतृत्वमा आएका व्यक्तिमाथि प्रश्न उठ्दा महानिरीक्षक कुँवर दुधले नुहाएको जस्तै गरेर बसिरहेका छन् । त्यो भन्दा रोचक त तत्कालीन गृहमन्त्री लामिछानेलाई सहकारी मुद्दा प्रकरणमा उजुरी नै नपरेको भनेर साथ दिएका उनी सरकार फेरिएपछि अहिले त्यसैमा हो मा हो मिलाइरहेका छन् । अर्थात सहकारीकै विषयमा रवि जोगाउन हदैसम्मको चाप्लुसी गरेका कुँवर नेतृत्वमै कायम रहँदा त्यसैलाई जोडेर ज्ञवालीमाथि प्रश्न उठाँउनु हाँस्यास्पद छ । यसले रंग फेर्न सिपालुहरु बच्ने र नसक्ने पिल्सिने गरेको प्रष्ट हुँदा संगठनलाई गुलामी र सलामीमा सीमित गरेको नैतिक दोष महानिरीक्षकमाथि छ । अर्कातर्फ महानिरीक्षक नै ताकेपछि ज्ञवालीलाई ठिक लाइदिएको सन्तुष्टिबाहेक कुँवरलाई अर्को फाइदा यसले दिने छैन ।

हुन त गल्ती गर्नेलाई कारबाही हुनु राम्रै कुरा हो । तर राजनीतिक आँखाबाट प्रहरीलाई हेर्ने, सत्ता र त्यसमा होमा हो मिलाउने प्रहरी नेतृत्वकै कारण संगठनमाथिको प्रश्न बलियो बन्दै छ । जहाँ प्रहरीको उपल्लो ओहादामा भएकाहरु पनि नेतामुखी भएर दैलो चहार्दा, राजनीतिक नेतृत्वको हस्तक्षेप चुलिएको यर्थाथलाई यस्ता घटनाले अझ छर्लङ पारिदिएको छ । जसका कारण काबिल र क्षमतावान नभएर नजिकका भएकै कारण नेतृत्वमा छलाङ मार्ने अनि आफूले नसकेमात्रै प्रश्न उठाँउने प्रवृत्ति बढ्दो छ । जसलाई प्रहरी अधिकारीहरुकै घर जलाएर खरानीको व्यापार गर्ने हर्कतको उपज मान्न सकिन्छ ।