काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाईन्सको विमान दुर्घटनासम्बन्धि छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गरेकाछन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानविन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै सो आयोगबाट निष्पक्ष छानविन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताए ।
सरकारले सो विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो ।
उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानविनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए ।अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरे ।
प्रतिक्रिया