देश

क्याप्टेन मनिष शाक्यलाई क्याबिनमा सारियो, स्वास्थ्य अवस्था सुधारउन्मुख

योहो संवाददाता

काठमाडौँ— सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् ।

उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ डा. थापाले भनिन् । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।

उनलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । बिरामीका आगन्तुकलाई भेट्न दिइएको छैन ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पु¥याइएको थियो ।

डा. थापाका अनुसार उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।