Breaking

शोकमा डुब्यो टिचिङ अस्पताल, आफन्तलाई सम्झाउन हम्मेहम्मे, सिंगो परिवार यसरी भयो खसाप (भिडियोसहित)


काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाले ज्यान गुमाए । विमानमा रहेका १९ जनामध्ये क्याप्टेनबाहेक सबैको मृत्यु भएको हो । सो दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उडान भरेको केहीबेरमै विमानस्थलको गोठाटारतर्फको खोंचमा विमान खसेको थियो । ठूलो मानवीय क्षति भएसँगै शोकमा डुबेका मृतकका आफन्त भावविवहल छन् ।
यो हृदय विदारक दृश्य महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरको हो । बुधवार दिनभर अस्पताल परिसर शोकाकुल बन्यो । कोही डाँको छोडेर रुँदै थिए त कोही भावविवहल भए पनि दुःखको पीडामा रहेका परिवारका सदस्यलाई सम्झाउँदै, सम्हाल्दै थिए । कसैको पनि आँखामा आँशु रोकिँदै रोकिएन । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको परिवार र आफन्तहरु अस्पताल परिसरमा भेला भएका हुन् । पोस्टमार्टमका लागि अस्पतालको फोरेन्सिक विभागमा शव लगेपछि आफन्तहरु शिक्षण अस्पताल पुगेका थिए । अस्पतालभित्र शव पोष्टमार्टम चलिरहँदा बाहिर परिवारका सदस्य एवं आफन्तजनको रुवाबासी चलेको थियो । देशले नै भोग्नु परेको यति ठूलो पीडामा बुधबार दिनभर शिक्षण अस्पताल शोकमा डुब्न पुग्यो ।

सौर्य एयरलाइन्सकै इन्जिनियर र कर्मचारीसहित १९ जना सवार ‘९ एन–एएमई सीआरजे–७’ विमान काठमाडौंबाट पोखराका उडेको थियो । विमानस्थलको टु जिरो रनवेबाट जिरो टु रनवेतर्फ हुँदै उडेको उक्त विमान विमानस्थल क्षेत्र बाहिर पुग्न नपाउँदै गोठाटारतर्फ रहेको धावनमार्गबाहिरको खोचमा खसेको थियो । सो दुर्घटनामा विमानका क्याप्टेन मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो भने बाँकी १८ जनाको ज्यान गएको हो । क्याप्टेन शाक्य दुर्घटनामा बाच्न सफल भए पनि उनीसँगै रहेका को पाइलट– सुशान्त कटुवालको भने मृत्यु भएको छ ।

एयरलाइन्सकै कर्मचारी सवार विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एयरलाइन्सका इन्जिनियर मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरुकै नाबालक छोरा अधिराज शर्माको ज्यान गएको हो । प्रिजा उर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै, सौर्यका चिफ अफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञप्रसाद पौड्याल, चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मासहित एयरलाइन्स व्यवस्थापन समूहका पाँच जनामध्ये ४ जनाको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुने अन्यमा अमितमान महर्जन, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडा रहेका छन । रेडा यमनका नागरिक हुन् । घटना लगत्तै उद्धार टोलीले मृत्यु भएकाहरुको शव संकलन गरी पोटस्मार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पु¥याइएको थियो । अस्पतालले छिट्टै पोस्टमार्टम सकेर परिवारलाई शव बुझाउने जानकारी दिएको छ । पोस्टमार्टमका लागि जनशक्ति अभाव भएकाले ललितपुर, भक्तपुर र पोखरासमेत चिकित्सक झिकाइएको जनाइएको छ । केही शव पहिचान हुन नसक्ने गरी जलेकाले परिवारका सदस्यको डीएनए जाँचसमेत गर्नु पर्ने अवस्था रहेकाले शव बुझाउन ढिलाइ हुने अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालले सबै शवको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जनाएको छ । पोस्टमार्टम सकेर शव बुझाउन समय लाग्ने भएपनि मृतकका आफन्तहरु भने अस्पताल परिसरमा बसिरहेका छन् । यो दुःखको घडीमा अहिले शिक्षण अस्पताल शोकमा डुबेको छ ।