फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । १२ वर्षपछि युरोको फाइनलमा प्रवेश गरेको स्पेनको टोलीभित्र यतिबेला १६ वर्षे खेलाडीको चर्चा छ । उनको चर्चा मात्रै होइन विश्वजगतका फुटबल स्टार लियोनल मेस्सीसँग १६ वर्षअघि खिचिएको तस्विरसमेत भाइरल बनेको छ ।
१२ वर्षमा खोला फर्किन्छ भनेझै १२ वर्ष पछि स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ । युरो कपको दाबेदारको रुपमा हेरिएको स्पेनी टोलीभित्र यस्तो खेलाडीको आगमन भएको छ जसको यतिबेला विश्वभर चर्चा छ । ११ जनाको टोलीमा कलिलो उमेरका १६ वर्षे ठिटो, १९ नम्बरको रातो जर्सी । खाइलाग्दो ज्यान । छातीको बायाँतर्फ फिफाको एउटा तारा । अनि हजारौँ तारामध्येको एउटा उदाँउदो चम्किलो तारा । स्पेनका लागि अर्को फिफाको तारा थप्न २०२६ कुरिरहेका लमिन यमाल ।
उनको चर्चा यतिबेला विश्व प्रख्यात खेलाडी लियोनल मेस्सीको बाटो पछ्याउँदै गरेको खेलाडीका रुपमा भइरहेको छ । हुन पनि किन नहोस् र यमाल अर्जेन्टिनाका स्टार मेस्सीका डाइहार्ट फ्यान हुन् । उनी मेस्सीलाई नै गुरु मान्छन् । यमाल अहिले बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी हुन् । यमाल सानैदेखि बार्सिलोना क्लबमा छन् । उनले भरखरै मात्र कक्षा १० उतीर्ण गरेका छन् । उनी बार्सा क्लबमै अनलाइन क्लस लिन्छन् ।
मेस्सी बार्सामा हुँदा उनको जन्म भएको थियो । संयोग पनि कस्तो भने मेस्सी र यमाल दुवैले एकै दिन आ–आफ्नो टिमबाट एक एक गोल गरेका छन् । मेस्सीले कोपा अमेरिकामा गोल गर्दै आफ्नो टोलीलाई फाइनलमा पु¥याउँदा यमालले यूरो कपमा गोल गरेर स्पेनलाई उपाधि नजिक पु¥याएका छन् । यमालले मेस्सीसँगका हरेक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । फ्रान्सलाई २–१ ले हराएर फाइनल यात्रा तय गरिसकेपछि यमालले सामाजिक सञ्जाल ट्वीटर हालको एक्स एकाउन्टमा माया लाग्दो फोटो हालेका छन् ।
उक्त फोटोमा मेस्सीको काखमा देखिएका नवजात शिशु उनै यमाल हुन् । एक्समा उक्त फोटोसहित उनले लेखेका छन्, ‘रिबोर्न’, अर्थात् पुनर्जन्म । उनले एउटा पोस्टमा लेखेका छन्, ‘मेस्सीले लगाएको एडिडासको बुट हेरेर मैले फुटबल सिकेँ ।’ सामाजिक सञ्जालभरि सानो मेस्सीको रुपमा चर्चा पाएका यमालको यतिबेला मेस्सीसँग खिचिएको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छन् । माजोन मोनफोर्टले करिब १६ वर्षअघि च्यारिटी क्यालेन्डरका लागि खिचेको स्टार फुटबलर लियोनेल मेस्सी र एक नवजात बच्चाको फोटो अहिले खुबै भाइरल भइरहेको हो ।
प्लास्टिकको बकेटमा यमाललाई उनकी आमाले नुहाइदिइरहेका बेला मेस्सीले यमाललाई समाउँदै मुस्कुराउँदै नुहाइदिएको फोटोले यतिबेला विश्वको ध्यान खिचिरहेको छ । यमालका बुबाले उक्त तस्बिर राखेपछि बार्सा बजले सोही बेला खिचिएका अन्य तस्बिरहरु पनि सार्वजनिक गरेको छ । यमाल मेस्सी जस्तै ला मासिया फुटबल क्लबकै उत्पादन हुन् । उनी सन् २०१३ देखि ला मासिया थिए । उनले सन् २०२३ मा स्पेन र बार्सिलोना दुवै टोलीका लागि सिनियर टोलीमा डेब्यु गरेका हुन् ।
यमाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जुलाई १३ मा १७ वर्ष पुग्नेछन् । यमाललाई खेलाउँदा स्पेनलाई कम्ती सकस भएको छैन । जर्मनीको कानुनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राति ८ बजेपछि काममा लगाउन पाइँदैन । तर खेलाडीले भने राति ११ बजेसम्म खेल्न पाउने नियम छ ।
यही नियमअनुसार उनी समूह चरणको इटालीविरुद्धको खेलमा हाफ टाइममै मैदानबाट बाहिरिनु परेको थियो । तर स्पेनका लागि महत्त्वपूर्ण खेलाडी रहेका यमालले जर्जियासँगको प्रि–क्वार्टरफाइनलमा उनका म्यानेजरले ३० हजार पाउण्ड फाइन तिरेरै खेलाएका थिए ।
यही नियमका कारण यता सेमिफाइनलमा पनि ४८ हजार यूरो तिर्नुपर्ने भएको छ ।
फाइनल खेल पनि सोही समयमा हुने भएकाले स्पेनले फाइनलसम्म यमाललाई खेलाउन १ लाख ५० हजार जरिवाना तिनुपर्ने हुन्छ । यमालले अहिले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा प्रभाव पारिरहेका छन् । तर यसअघि नै उनले बार्सिलोनामा आफ्नो पहिलो सिजनमा कीर्तिमानका किताबहरू पुनर्लेखन गरिसकेका छन् । उनी स्पेनिस टोलीका सबैभन्दा कान्छो स्टार्टर र गोलकर्ताका साथै ला लिगामा सबैभन्दा कान्छो गोलकर्ता हुन् ।
जेहोस स्पेनले एउटा नयाँ सुपरस्टार जन्माएको छ । आगामी दिनमा यमाल लामो रेसको घोडा बन्ने निश्चित छ । उनले आफ्नो देश र क्लबका लागि उत्कृष्ट खेल प्रदर्शन गर्दै थुप्रै रेकर्डहरु बनाउने देखिन्छ । उनी आधुनिक फुटबलका अर्काे चम्किलो फुटबल स्टार बन्नेमा दुईमत छैन ।
प्रतिक्रिया