काठमाडौँ— बेलायतमा भोलि बिहीवार संसदीय निर्वाचन हुँदैछ । मतदानको समय नजिकिँदै गर्दा विपक्षी लेबर पार्टीको जबरजस्त उपस्थितिका कारण चुनावको चर्चा थप चुलिएको छ । डेढ दशकदेखि सत्तामा रहेको कन्जरभेटिभ दललाई विपक्षीले धक्का दिने मत सर्वेक्षणले बेलायतको निर्वाचन थप चासोपूर्ण बनेको छ ।
बेलायतको भावी प्रधानमन्त्री ४४ वर्र्षीय ऋषि सुनक वा विपक्षी लेबर पार्टीका ६१ वर्र्षीय केयर स्टारमरमध्ये को हुन्छन् ? भन्ने प्रश्नका बीच बिहीबार निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनककै कमव्याक वा निर्वाचनको मुखमा जबरजस्त वर्चश्व बढाएका विपक्षी लेबर पार्टीका नेता केयर स्टारमरको उदय ? निर्वाचनको संघारमा जारी मत सर्वेक्षणहरुले ऋषि सुनक संकटमा रहेको देखाउँदा विपक्षी लेबर पार्टीले चुनाव जित्ने विश्लेषण भएपछि बेलायत मात्र होइन विश्व राजनीतिमै यो निर्वाचन बहसमा छ । कन्जर्भेटिभ र लेबर पार्टी दुवैले धेरै सिट जित्ने आकलनका बीच सन् २०१० देखि सत्तासिन प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टी पराजित हुने प्रक्षेपण गरिएको छ । विभिन समयमा भएका मत सर्वेक्षणहरुमा लेबर पार्टी पहिलो, कन्जरभेटिभ दोस्रो र आप्रवासनको चर्को विरोध गर्दै आएको दक्षिणपन्थी रिफर्म यूके नामक पार्टी तेस्रो स्थानमा रहेको देखाएको छ । प्रधानमन्त्री सुनकको पार्टी पछिल्लो समय खस्किँदो अवस्थामा रहेका कारण सत्तामा लेबर पार्टीको उदय हुने विश्लेषण भइरहेको छ । आफ्नो कार्यकाल नसकिँदै प्रधानमन्त्री सुनक चुनावमा होमिएका कारण पनि शंकाको सुविधा दिइएको छ । सन् २०२२ मा ४२ वर्षकै उमेरमा बेलायतको प्रधानमन्त्री बन्दै आधुनिक बेलायतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेर इतिहास रचेका सुनक र इंग्ल्यान्डको सार्वजनिक अभियोजन कार्यालयका पूर्वनिर्देशकसमेत भएर काम गरिसकेका स्टारमर मुख्य प्रतिद्वन्द्वी छन् । चुनावी दौडसहित प्रधानमन्त्रीको दावेदार सुनक र स्मार्टर दुवै चुनावी नतिजा आफ्नो पक्षमा पार्न अनेक हतकण्डा अपनाइ रहेका छन् । प्रधानमन्त्रीको दुवै प्रत्यासी हिन्दु मतदाताको मन जित्न हिन्दु मन्दिरमा गएर पूजाआजा गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
लेबर पार्टीले आर्थिक स्थिरता प्रदान गर्दै आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउने विषय प्राथमिकतामा राखेको छ । सीमा सुरक्षा कमान्ड वा दस्ता बनाउने विषय स्टारमरले मुख्य प्राथमिकता दिएका छन् । उनले नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु जस्ता एजेन्डाहरु अघि सारेका छन् । करिब ६७ मिलियन जनसंख्या रहेको विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको संयुक्त अधिराज्य (यूके) अर्थात बेलायतमा इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र स्कटल्यान्ड राज्य छन् । स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, राष्ट्रको सुरक्षा, आप्रवासन, ऊर्जा, सामाजिक सुरक्षा, पेन्सन, कर, जलवायु परिवर्तनजस्ता मुद्दा छन् । मतगणना सकिएपछि राजाले सबैभन्दा धेरै सिट जित्ने पार्टीका नेतालाई प्रधानमन्त्री बन्न र सरकार बनाउन आह्वान गर्नेछन् । दोस्रो धेरै सिट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्ने बेलायतको संसदीय अभ्यास छ ।
प्रतिक्रिया