Breaking

बालेनलाई फेरि वडाध्यक्षले घेरे, नगर सभामै हल्लाखल्ला, बजेट आयो नीति कार्यक्रम अड्कियो ?


काठमाडौं – महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र वडाध्यक्षहरूबीचको विवाद साम्य नहुँदा दोस्रो पटक नगर सभाको बैठक स्थगित हुँदै आएको छ । पटक पटक महानगरपालिकामा देखिएको जनप्रतिनिधिहरू बीचको यो भिडन्त आखिर के हो त ?

सत्ता र प्रतिपक्षीको संसद्मा देखिने जुहारीलाई पनि मात खुवाउने खालको परिदृष्य अहिले काठमाडौं महानगरपालिकाको नगर सभा बैठकमा देखिने गरेको छ । दलहरूबाट निर्वाचित जनप्रतिनिधि र स्वतन्त्रबाट महानगरपालिकाका प्रमुख बनेका बालेन्द्र शाह बालेनबीच टकराव बढ्दै जाँदा नगर सभाको बैठक सञ्चालनमै अवरोध सिर्जना भइरहेको छ ।

बालेन र वडाध्यक्षबीचको विवाद साम्य हुन नसक्दा शुक्रबारका लागि तय भएको १५ औं नगर सभाको चौथो बैठक स्थगित भएको छ । त्यस्तै गत असार २ गतेका लागि तय भएको १५ औं नगर सभाको दोस्रो बैठक तीन जना दलका नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको भन्दै सभा हलमा उपस्थित भएर पनि बैठक स्थगित भएको थियो ।

दोस्रो बैठक हुन नसक्नुको कारण दलगत वडाध्यक्षहरूमाथि दोष थोपरेका महानगर प्रमुख बालेनले शुक्रबारको बैठक स्थगित हुनुको मुख्य कारण पनि तिनै राजनीतिक दलका नेताहरूलाई नै जिम्मेवार ठह¥याएका छन् । असार १० गते बसेको नगर सभाको बैठकमा पेस गरिएको नीति तथा कार्यक्रममा वडाध्यक्षहरूले २८ बुँदे संशोधन प्रस्ताव राखेका थिए । जसमा पार्टीका नेताका नाममा करोडौंको कार्यक्रम राख्नु पर्ने उनीहरूको प्रस्ताव थियो ।

तर, बालेनले नेताको नाममाभन्दा चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाम राख्ने बताएका थिए । यसैमा असन्तुष्टि जनाएका प्रवक्तासहित वडाध्यक्षहरूले आफूहरूले राखेको संशोधन प्रस्ताव सबै समेटिनु पर्ने अडान नछोडेपछि उनीहरू र मेयरबीच पुनः द्वन्द्व चर्किएको हो ।

एउटै उद्देश्य बोकेर जनताबाट निर्वाचित भएका जनप्रतिनिधि नै अहिले एक आपसमा भिडिरहेका छन् । प्रतिष्ठाको लडाइँमा लाग्दा एकले अर्कालाई सहयोग गरेर अघि बढ्नु पर्नेमा खुईल्याउन लागिपरेका छन् । महानगरले ल्याएको नीति तथा कार्यक्रम अघि बालेन र राजनीतिक दलबीच सडक र फुटपाथलाई लिएर ठूलै भिडन्तसमेत देखिएको थियो । ]

त्यसैले पनि पटक पटक महानगर प्रमुख बालेन र अन्य जनप्रतिनिधिहरूबीच देखिएको टसल साच्चिकै महानगरको विकासमा केन्द्रित छ ? वा यसलाई राजनीतिक मुद्दा बनाइएको हो ? भन्ने शङ्का बढिरहेको अवस्थामा जानकारहरू पनि यो फगत राजनीतिक खिचातानी मात्रै भएको विश्लेषण गर्छन् ।

दलगत नेताहरूले स्वतन्त्र मेयर बालेनलाई पार्टीको दम्भ देखाउने र बालेनले पनि दलका नेताहरूलाई निषेध गरेरै अघि बढ्न खोज्दा टसलको अवस्था सिर्जना भएको छ । सङ्घीयताको ठूलो उपलब्धिको रुपमा सावित हुँदै गएको स्थानीय सरकारलाई थप नयाँ उचाईमा पु¥याउन हरेक पालिकाले भूमिका खेल्नु पर्ने हो ।

त्यसमाथि पनि आर्थिक दृष्टिकोणले देशकै ठूलो महानगरपालिकाको हैसियत बनाएको काठमाडौंले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । तर, जनप्रतिनिधिहरू बीचको जुङ्गाको लडाइँले स्थानीय तहले जोगाई रहेको साख पनि गुम्ने खतरा बढ्दै गएको छ । एउटाले आगो सल्काउने र अरुले घिउ थप्ने कामले कसलाई सिध्याउने हो ? यसै भन्न सकिने अवस्था छैन ।