Breaking

रविमाथि अर्को बज्रपात, टेकुमा परेको उजुरी के हो ? सर्वोच्चमा फाइल घुम्यो, पोखराका पीडित बोले (भिडियोसहित)


काठमाडौँ— सहकारीका नामुद अभियुक्त जीबी राई मलेसियामा रहेको सूचना चुहाएपछि गृहमन्त्री रवि लामिछानेको चर्काे आलोचना भइरहेको छ । किनकि जीबी राईलाई पक्राउ गरि नेपाल ल्याउने प्रमुख भूमिका गृहमन्त्रीको हो । तर आरोपी भाग्ने गरि गृहमन्त्री बोलेपछि उनीमाथि नै शंका बढेको छ । आफै सहकारीको अनुसन्धानमा परेका गृहमन्त्रीले जीबीलाई समात्दा थप समस्या हुने भन्दै आलटाल गरेको आरोप लागिरहेको छ । त्यसमाथि पनि गृहमन्त्रीविरुद्ध परेका जाहेरीलाई प्रहरीले दर्ता नै गर्न नमानेको अर्काे गम्भीर विषय छ । एक रिपोर्ट ।

गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी मुद्दामा कास्की प्रहरीले प्रमाणित जाहेरी उपलब्ध गराएको भए, सम्भवतः अहिलेसम्म उनी पदविहिन भइसक्थे । तर प्रहरीले जाहेरी नपरेको जवाफ दिएपछि सर्वाेच्च अदालतले मुद्दाको फैसला गरेको छैन । उता आफैले दिएको जाहेरी प्रहरीले लुकाएको भन्दै कास्कीमा पीडितहरुले प्रदर्शन गरेका छन् ।

गृहमन्त्रीविरुद्ध उस्तै प्रकृतिको जाहेरी जिल्ला प्रहरी परीसर टेकुमा समेत युवराज सफलले दायर गरेको विषय सार्वजनिक भएको छ । तर कास्की र काठमाडौं दुवै ठाउँमा प्रहरीले यी जाहेरी दर्ता गरेको आधिकारिकमा रुपमा पुष्टि भएको छैन । अर्थात् पीडित र निवेदक जाहेरी लिएर पुग्ने तर प्रहरीले दर्ता नगर्ने क्रम चलेकोदेखिन्छ । किनकि आफ्नै नेतृत्वका विरुद्ध परेका जाहेरी दर्ता गर्न प्रहरीसमेत तयार छैन ।झन त्यसमा पनि आफैसँग नाम जोडिएका सहकारी ठग जीबी राईका विषयमा दिएको विवादित अभिव्यक्तिका कारण गृहमन्त्री आलोचित छन् ।

सहकारीको मुद्दाले तर्सिएका गृहमन्त्री लामिछानेले विहिबार चितवन पुगेर जीबी राई मलेसियामा रहेको सूचना सार्वजनिक गरे ।रविको बोली भुँईमा खस्न नपाउँदै यता गृहमन्त्रीले सूचना चुहाएको भन्दै चौतर्फी आलोचना भयो । उनी आफैले जीबीलाई भगाउन भूमिका खेल्दैछन् भन्ने आरोप लाग्यो । किनकि जीबी मलेसियामा छन् भन्ने पक्का भएपछि पक्राउ गर्नुपर्ने हो । सार्वजनिक मिडियामा अनुसन्धानका गम्भीर विषय खोल्दा आरोपी भाग्न सम्भावना हुन्छ । तर गृहमन्त्रीले त्यही गल्ती गरेपछि आलोचित बन्नुपरेको छ ।

यसअघि गृहमन्त्रीले जीबीलाई पक्राउ गरि ल्याउनका लागि मलेसियन समकक्षीसँग संवाद गरेको विषय समेत सार्वजनिक भएको थियो । उनी आफैले पनि दुईपटक संवाद भएको उल्लेख गरेका छन् । तर हालका मितिसम्म जीबी पक्राउ परेका छैनन् । जीबीसँगै सहकारीमा रवि जोडिएपछि काँग्रेसको माग अनुसार संसदीय छानबिन समिति बनेको छ । तथापी एक महिनासम्म छानबिन समितिले समेत प्रभावकारी ढंगबाट काम कारबाही सुरु नगरेपछि त्यसमाथि पनि प्रश्न उठ्न थालेको छ ।

जीबी मलेसियामा रहेको खबर सार्वजनिक भएपछि प्रहरीले माघ १२ गते इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।केही समयपछि त्यसलाई बदलेर ‘रेड नोटिस’ पनि जारी भयो । अर्थात् उनी १९६ देशका प्रहरीको खोजीमा छन् । तर सुपुर्दगी लगायतका कानुनलाई देखाएर सरकारले आलटाल गर्ने काम गर्दैछ ।रवि प्रतिपक्षमा भएका बेला सरकारले चाहे जीबीलाई हप्तादिन भित्रै पक्राउ गर्ने भन्दै तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका थिए । सत्तामा आएपछि झनै गम्भीर आरोप लगाउँदै सरकारले नै जीबीलाई भगाएको दाबी गरे । तर अहिले उनी सरकारमा सामेल भएको सय दिनभन्दा बढी बितेको छ । जीबीका विषयमा रविकै भूमिका शंकास्पद देखिँदै गएको छ ।