रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगे । उत्तर कोरिया पुगेसँगै दुई देशबीच रक्षालगायत धेरै महत्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने दिने राजकीय भ्रमणका लागि प्योङयाङ पुगे । दुवै देश अन्तर्राष्ट्रिय रूपमा एक्लिएका बेला पुटिन र किमले एकताको प्रदर्शन गरेका छन् । दुई देशबीचको सम्बन्ध हालैका वर्षहरूमा प्रगाढ बनेको छ । त्यो विशेष गरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विस्तार भएको हो ।
दुवै देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध भए पनि उत्तर कोरियाले रुसलाई युद्धका निम्ति गोलीगट्ठा, रकेट र ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराइरहेको ठानिन्छ । दुवै पक्षले प्रतिबन्ध उल्लङ्घन गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ ।
सम्झौतामा एक अर्कामाथि हमला भएमा दुवै देशले एक अर्कालाई सहयोग उपलब्ध गराउने सहमति भएको छ । यो सम्झौतालाई ‘ऐतिहासिक दस्ताबेज’ भनिएको छ । हस्ताक्षर गरिएको विस्तृत साझेदारी सम्झौतामा अन्य कुराहरूका साथै आक्रमण वा युद्धको अवस्थामा एक अर्कालाई पारस्परिक सहयोग समावेश छ । यो रक्षा सम्झौताको असर रुस र युक्रेनमा पनि देखिने विश्वास गरिएको छ । यी दुई नेताको भेट ‘बाँकी विश्वका लागि सुखद खबर नभएको टिप्पणी भइरहेको छ । उत्तर कोरियाको भ्रमणमा रुसी राष्ट्रपति पुटिनलाई भव्य स्वागत गरिएको थियो । उत्तर कोरियाबाट पुटिन भियतनाम पुगेका छन् ।
सैन्य सहयोग सम्झौतामाथि दक्षिण कोरियाले रुसलाई ‘लक्ष्मण रेखा’ पार नगर्न चेतावनी दिएको थियो । सम्झौतामा हस्ताक्षरपछि उत्तर कोरियाली नेता किमले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचाहट’ जवाफ दिने बताएका थिए । उत्तर कोरिया र रुसबीचको सम्बन्ध अब सहयोगको नयाँ तहमा उक्लिएको र यसले ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने किमको भनाइ छ ।
यस्ता छन् सम्झौताका मुख्य कुराहरूः
१. अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अन्तहीन नाकाबन्दीलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदमा पुनरावलोकन गर्नु पर्ने ।
२. आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबीच विस्तृत साझेदारी सम्झौता ।
३. रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान, अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउनेबारे अमेरिका र नाटो देशले दिएका बयानलाई पनि ध्यानमा राख्ने ।
सम्झौताअन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोगको विकासलाई अस्वीकार गरेको छैन । यसरी दुई देशको मिलनले पश्चिमाहरु तरंगित बनेका छन् । पश्चिमाहरुले अलग बनाएका दुई शक्ति राष्ट्रको मिलनले विश्व एकपटक फेरि तरङगित बनेको छ ।
प्रतिक्रिया