Breaking

पुटिन–किम मिल्दा तरंग, अमेरिकासम्म मार हान्ने क्षेप्यस्त्र उपहार दिँदै, पुटिनलाई जनताको डर (भिडियोसहित)


काठमाडौँ— रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । पुटिनको उत्तर कोरिया यात्राले विश्वमा अहिले हलचल ल्याएको छ । ।।।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । यसअघि उनको पहिलो भ्रमण सन् २००० मा भएको थियो । किम जोङ उनले गत वर्ष आफ्नो ठूलो हरियो बुलेटप्रुफ रेलमा चढेर रुसको सुदूरपूर्वी क्षेत्रमा विचरण गरेलगत्तै उनले पुटिनलाई आफ्नो देश भ्रमण गर्ने निम्तो दिएका थिए । पुटिनले त्यो निम्तो सहर्ष स्वीकारेका थिए । करिब नौ महिनाको अन्तरालमा यो पर्खाइको अन्त्य भएको हो । विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो भने उत्तर कोरियाली नेता किम जोङ उन आफैँ उनलाई स्वागत गर्न पुगेका थिए ।

यी दुई देशका लागि एकअर्काबीच आपूर्तिको सुरक्षा मुख्य विषय रहेको देखिन्छ । रुसले युक्रेन युद्धको अग्रमोर्चामा खटाउन स्वयंसेवक, निर्माण कामदार तथा गोलीगट्ठा चाहेको देखिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । त्यसको बदला प्योङ्याङले चाहिँ आफ्नो सैन्य उद्देश्यमा सहयोग पुग्ने गरी रुसी उत्पादन तथा प्राविधिक सहयोगका साथै अमेरिकासम्म मार हान्न सक्ने गरी लामो दूरीका क्षेप्यास्त्र विकास कार्यक्रममा सहयोग खोजेको विश्लेषण छ । दुई नेताबीच वास्तविक मित्रता झाँगिदै गएको देखिन्छ । फेब्रुअरीमा पुटिनले किमलाई एक विलासी रुसी लिमोजिन गाडी उपहार दिएका थिए । जुन (राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको उल्लङ्घन) हो । हालै राष्ट्रपति पुटिनलाई पठाएको एक सन्देशमा किमले उत्तर कोरिया र रुसबीच समान उद्देश्यमा समर्पित अजेय मित्रता रहेको बताएका थिए । तर यो मित्रता केवल व्यापारिक किसिमको मात्र पनि हुन सक्छ । सिधा भन्नुपर्दा विश्वमा एक्लिएको रुसका निम्ति उत्तर कोरियाको महत्व ज्यादा बढेको छ । अनि उत्तर कोरियाले मस्कोको सो आवश्यकता बुझेको छ । यता जी–सेभेनका सदस्य देशहरूले रोक्का गरेर राखेको अर्बौं डलर बराबरको रुसी सम्पत्ति युक्रेनको मद्दतका लागि प्रयोग गर्ने भएको छ । यसले पनि पुटिन झस्केका छन् । दुई नेताबीचको छलफल परम्परागत हतियारको कारोबारसम्बन्धी सम्झौतामा मात्रै सीमित नहुने पनि ठानिएको छ ।

दुई देशबीच सैन्य सहकार्यलाई लिएर पनि सहमति हुन सक्ने सम्भावना छ । यसरी दुई देशको सम्बन्ध उचाइमा जाँदै गर्दा युरोपसँग र पश्चिमा विश्वसँग सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेको रुसका सर्वसाधारणहरूले उत्तर कोरियासँग बढ्दै गएको सम्बन्धको स्वागत गरिहाल्छन् भन्ने सम्भावना निकै कम छ । यो सम्भावित जोखिम पुटिनले मोल्नै पर्ने हुन्छ । अनि यी दुई नेताको भेटघाटपश्चात् पश्चिमा शक्तिहरूले चाल्ने नयाँ कदमहरूको सामना गर्न पनि उनी तयार हुनै पर्छ । यद्यपि, यी दुई नेताबीच खास के कस्ता समझदारी भयो भन्नेबारे सम्भवतः कसैलाई थाहा दिइँदैन । किम जोङ उन गत वर्ष रुस आउँदा पनि सम्झौताबारे जानकारी दिइएको थिएन । तर सन्देश प्रवाह अनि शक्ति प्रदर्शनका माझ ‘जिद्दी’ पुटिनका निम्ति विश्वको सबैभन्दा एक्लिएको देशमा मञ्च सजाइएको छ । त्यहाँ पुगेर पुटिनले देखाएको यो शक्तिले विश्वभर हलचल ल्याएको छ ।