Breaking

प्रचण्डको डेटलाइन साउन महिना, गण्डकीमा रडाको, बाबुरामका एकला सारथि फणिन्द्र


गण्डकी प्रदेशमा माओवादी केन्द्रकै सांसदले संसदीय दलको ह्वीप विपरीत गएपछि अर्को उथलपुथल भएको छ । त्यसमाथि राप्रपासमेत कांग्रेसको कित्तामा उभिँदा राजनीतिले फरक मोड लिएको छ । गण्डकीमा फेरिएको दृश्यले केन्द्रमा कस्तो प्रभाव पर्छ ?

गण्डकीमा मन्त्रीको ललिपप देखाएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी सांसद फणीन्द्र देवकोटालाई फ्लोर क्रस गराए । एमालेसँगै चुनाव लडेको राप्रपालाई समेत अफ्नो पक्षमा तान्न सफल हुँदा संघीय संसदमा कांग्रेसले बनाएको विपक्षी गठबन्धनले काम गरेको छ । यसले आवश्यक परेको अवस्थामा केन्द्रमासमेत राप्रपा कांग्रेसको पक्षमा उभिने स्पष्ट सन्देश देखिएको छ । योसँगै केन्द्रीय सहमतिअनुसार एमालेको भागमा परेको मुख्यमन्त्री अब कसैगरी पनि नफर्किने स्पष्ट भएको छ ।

गण्डकीमा ठक्कर खाएकै दिन साना दल चिढ्याए प्रतिपक्षमा बस्नुपर्ने एमालेले सुदूरपश्चिममा समेत एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकारमा मन्त्री पठाएको थियो । तर राप्रपाको समर्थनले भने केन्द्रमा पनि यदि कसैगरी वैकल्पिक समीकरण बन्ने र कांग्रेसले सरकार बनाउने अवस्था आएमा राप्रपाले साथ दिँदा पुग्ने अवस्था आए पछि हट्ने अवस्था देखिएको छ ।

तर गण्डकीको विवादमा पनि देवकोटालाई माओवादीले कारवाही गर्न खोजिरहेको छ । हँसिया हथौडा चिन्हबाट चुुनाव लडेका देवकोटा अहिले पनि माओवादीबाटै संसदीय समितिमा बसेका छन् । फ्लोर क्रस गर्दा भने आफू नेपाल समाजवादीको सांसद भएको दाबी गरेका छन् । नेसपाका सांसद छुट्याउन आग्रह गर्दै बाबुराम भट्टराईले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनको टुंगो लागिसकेको छैन । राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दलको ह्वीप नमानेमा दल त्याग गरेको मानिने उल्लेख गरिएको छ । यसलाई माओवादीले संसदीय दल त्याग गरेको रुपमा बुझ्दा देवकोटाले भने आफ्नो दल नेपाल समाजवादी भएको र बाबुरामको ह्वीप मानेको जिकिर गरिरहेका छन् ।

माओवादीको ह्वीप मान्नुपर्ने बाध्यतामा रहेका फणीन्द्र अर्कै दलको भए पनि कानुनले नेपाल समाजवादी पार्टीलाई चिन्दैन । तर, यो विवाद अब न्यायीक निरुपणमा जाने निश्चित हुँदा यदि देवकोटा कारबाहीमा परे फाइदा भने कांग्रेसलाई नै हुनेछ । किनकि देवकोटालाई कारबाही गर्ने बित्तिकै संसदको कायम संख्या ५९ हुन्छ । त्यसो हुँदा बहुमत संख्या ३० हुन्छ । यही अवस्थामा माओवादी–एमाले गठबन्धनको बहुमत नपुग्ने निश्चित भएकाले गण्डकीको मुख्यमन्त्री पाउने एमाले र माओवादीको सपना सपनामै सीमित हुने देखिन्छ ।

गण्डकीबाट खासगरी बाबुरामले प्रचण्डलाई दिएको घात र दिएको सन्देश महत्वपूर्ण छ । तथा राप्रपाको कदम निकै महत्वपूर्ण छ । किनभने यसअघि बाबुरामसँग पार्टी एकता गर्ने सर्तमै प्रचण्डले आफ्नै चुनाव चिन्ह प्रयोग गर्न दिएका थिए । पार्टी एकताकै आधार तयार पार्न समाजवादी मोर्चासमेत गठन गरियो । तर, पछि प्रचण्डले बाबुराम बाहेक अरु नेताहरुलाई मात्रै माओवादीमा तान्ने रणनीति लिएपछि बाबुराम चिढिएका हुन् । महेन्द्रराय यादव पक्षलाई भित्र्याएर संघ र प्रदेशमा एक एक सांसद प्रचण्डले आफ्नो पक्षमा पारेको अवस्थामा फणीन्द्रले भने बाबुरामका लागि कुर्बानी गरेका छन् भने बाबुरामले पनि निर्वाचन क्षेत्र छाड्दा समेत प्रचण्डले गुन नलगाएको जवाफ उनै फणीन्द्रमार्फत दिएका छन् ।

त्यसमाथि संसदमा गृहमन्त्री रवि लामिछानेविरुद्ध एजेण्डा बनाउँदा विपक्षी भएको असर राप्रपाले गण्डकीमा देखाइसकेको छ । अब देउवाले वैकल्पिक समीकरणका लागि राप्रपासँग पनि औपचारिक प्रस्ताव राख्ने बाटो खुलेको छ । त्यसमाथि एकीकृत समाजवादीको महाधिवेशनले पनि ठूलो अर्थ राख्ने देखिन्छ । किन भने अध्यक्षबाट साइड लाग्नुपर्ने डरले माधवले पार्टीमा एकलौटी गर्न पाएका छैनन् । तर उनी अध्यक्षमा दोहोरिए पेलेरै जाने र बाबुराम भट्टराईले विद्रोह गरेको देखाएर देउवाले माधवलाई पनि उच्काउने पक्का छ । अहिले एकीकृत समाजवादी नै प्रचण्ड सरकारको आयू तोक्दै हिँडेको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको गुणगान गाएकै कारण देखाएर गठबन्धन फेरेका प्रचण्ड अहिले ओलीले दिनदिनै विघटनको पक्षपोषण गर्दा पनि नसुनेजस्तो गर्नुपर्ने अवस्थामा छन् । यस्तो अवस्थामा केन्द्रीय नेतृत्वमा तत्काल नफर्किए पनि कहिले अदालत त कहिले अरु दलका असन्तुष्टिमा खेलेर प्रदेशमै भए पनि कांग्रेसको सत्तारोहण भने सफल बन्दै गएको देखिन्छ ।