Breaking

टी–२० विश्वकप खेल्न सन्दीप पुगे वेस्ट इन्डिज


काठमाडौँ – आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन् । यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो । तर, अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएका थिए ।

साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल पनि सन्दीपले गुमाउँदैछन् । नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ । सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी–२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ ।