Breaking

बहुमत पुग्ने अवस्थामा मात्र राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने


काठमाडौँ – संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । तर सबैभन्दा ठुलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत पाउन मुस्किल देखिएको छ ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अहिले कांग्रेससँग जम्मा २७ मत रहेका छ । बहुमतका लागि पाण्डेलाई राप्रपासहित स्वतन्त्र एक र नेसपाका सांसदले मत दिनुपर्ने हुन्छ ।

यी तीनै पक्ष बहुमत पुग्ने अवस्था भएमात्र विश्वासको मत दिने अडानमा रहेकाले मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा परेका छन् । प्रदेश सभामा दुई सिट रहेको राप्रपाले बहुमत पुग्ने अवस्थामा मात्र विश्वासको मत दिने बताएको छ । राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले बहुमत पुग्ने अवस्थामा मात्र मुख्यमन्त्रीलाई पार्टीले मत दिने स्पष्ट पारे ।