Breaking

कर्णालीमा मृत्युसँग लड्दै मान्छेदेखि खच्चडसम्म, नेता जीपलाइनमा


काठमाडौँ – कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा खाद्यान्नका भारी बोकेका १३ खच्चड फसे । भौगोलिक रुपमै विकट यस क्षेत्रमा यो घटना सम्बन्धित निकायले थाहा पाउनै तीन घण्टा लाग्यो । पाँच घण्टा लगाएर उद्धार गरिए पनि दुई खच्चड झोलुङ्गे पुलको धरापमा परेर मरे । कर्णालीमा झोलुङ्गे पुलहरुको व्यथा त यो घटनाले देखाउँछ नै अहिले पनि यस्ता गाउँ छन् जहाँका स्थानीय तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सिटामोल नपाएर जनता छट्पटीनु पर्ने कर्णालीमा आइतबार झोलुङ्गे पुलमा खच्चड छट्पटाएको दृश्यले भावुक बनायो । बिहान ९ बजेदेखि पुलको लठ्ठा चुँडिएर खच्चड फसेको खबर सम्बन्धित निकायसम्म पु¥याउँनै तीन घण्टा समय लाग्यो । जुन कर्णालीको अर्को वेदना हो । कर्णाली नदीमाथि दैलेख र अछाम जोड्ने जीर्ण भइसकेको झोलुुंगे पुलमा १३ खच्चड फसेका थिए । पाँच घण्टा लगाएर डोरीको सहायताले उद्धार गरिए पनि दुई खच्चडलाई भने सकुशल उत्त धरापबाट निकाल्न सकिएन । पुलबाटै उद्धार गर्न कठिन भएपछि पुलको तारको जाली काटेर कर्णाली नदीमा खच्चडलाई खसालिएको थियो ।

अब यो तस्बिर हेर्नुहोस् । जहाँ तीन वर्षअघि मात्रै उच्च पहाडी क्षेत्रमा चर्न गएका गाई घाइते भएर हिँड्न नसक्ने भएपछि स्वीजरल्यान्डले हेलिकोप्टरमार्फत उद्धार गरेको थियो । अर्को यो नेपालको दृश्य हेरौँ । जहाँ अछामका जनताको भोक मेट्न चामल लिन दैलेख हिँडेका खच्चडले समयमा उद्धारसमेत पाएनन् । रुकुममा भूकम्प पीडितका छाप्रा उडाउने हेलिकोप्टर कर्णालीको खाद्यान्न ढुवानीमा भरपर्दो साधनको रुपमा रहेका खच्चडको उद्धारमा पुग्नु पथ्र्यो । तर त्यसो भएन ।

एकथान ज्यानमारा राजमार्ग मात्रै पाएका कर्णाली र सुदूरपश्चिमका लागि खच्चड नै यातायातको भरपर्दो साधन हो । तर जनताले त दुःख पाएकै थिए– अब निर्दोष पशु पनि नछुट्ने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । हुन त सो झोलुङ्गे पुलभन्दा केही दूरीमा राकम कर्णाली मितेरी पक्की पुल पनि छ । तर दैलेखलाई पुलले छोए पनि अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडापट्टिका जनतालाई सडकले छोएको छैन ।

३ वर्ष अघि दार्चुलाका जयसिंह धामीले तुइनबाटै खसेर ज्यान गुमाउनुप¥यो । भलै त्यतिबेला भारतीय एसएसबीले डोरी काटेको दाबी गरिएको थियो । तर कर्णालीमा सरकारकै कारण पुलको लठ्ठा चुँडिएको हो । शासकहरुलाई अहिले पनि कर्णालीका समस्या र तुइन शब्द सुन्ने बित्तिकै एलर्जी हुन्छ । गाडी र खच्चड नै तुुइनबाट ओहोरदोहोर गराउनु पर्ने समस्याबारे सरकारको आँखा खोल्न नखोजिएको पनि होइन । तर, शासकहरुले कहिल्यै वर्तमान चित्र हेर्नै चाहेनन् । उनीहरु आफूले तुइन विस्थापित गरेको सपनालाई मात्रै सत्य मान्न थाले । केपी शर्मा ओली नेतृत्वको सरकारले कैयन तुइन विस्थापन गरेकै हो । तर अहिले पनि जनता तुइनको यात्रा गर्न बाध्य रहेको दृश्यले राज्य सत्तामा बसेकाहरुलाई छुँदैन ।

यस्ता ताजा भिडियो देखाउँदा १० वर्षअघिको समस्या देखाएर अतिरञ्जना गरिएको भन्दै पन्छाउने प्रवृत्ति हाबी छ । कर्णालीमा अहिले पनि यस्ता गाउँ छन् – जहाँ तुइनकै सहारा छ । सरकारले तुइन विस्थापन घोषणा गरेको ९ वर्ष बित्दासमेत हुम्लाका तीनवटा पालिकाका नागरिक अहिले पनि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सर्केगार्ड गाउँपालिकाको रिप, खार्पुनाथ गाउँपालिकाको लाली र चंखेली गाउँपालिकाको घट्टचौरका जनप्रतिनिधिदेखि स्थानीयको जीवन तुुइनमै अडिएको छ । रिप गाउँका मात्रै ३१९ घरधुरीले तुइनकै सहारा लिनुपर्छ । तुइनबाट मोटरसाइकल तार्न १ हजार र मानिस आउजाउ गर्न दुई सय रुपैयाँ तिर्नु पर्ने बाध्यता छ । दातृ निकायको सहयोगमा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण भएको तर, कर्णाली नदीमा पुल नहुँदा स्थानीय भने तुइनकै भर पर्नु पर्छ । झोलुुंगे पुल भत्किएका छन् तर राज्यको नजर गएको छैन ।

शासकहरुले जीपलाइनको मज्जा लिँदा जनता तुुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हृदय विदारक दृश्य अहिले पनि छन् । चाहे तुइनबाटै गाडी र खच्चड ओसार्नु पर्ने बाध्यता होस् वा दैलेखमा खच्चड फसेको ताजा घटना यी सबै नेपालको समृद्धिका बाधक दृश्य हन् । तर काठमाडौंको उज्यालोलाई देखाएर कर्णाली र सुदूरपश्चिमका विकट क्षेत्रको अँध्यारो सरकारले दबाइरहेको छ । विकट क्षेत्रको अँध्यारो दैनिकी कहिले हट्छ ? यो प्रश्न अब सबैले उठाउन जरुरी छ ।