Breaking

माधव पछार्दै झलनाथ, कसको गुट कति बलियो ? पार्टी नै फुट्ने डर, घनश्याम पनि लाइनमा


काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत सामाजवादी पार्टी महाधिवेशनको चटारोमा छ । आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडांैमा हुन लागेको १० औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र छ । महाधिवेशनको मिति जति नजिकिँदै छ नेकपा एसभित्रको आन्तरिक कलह पनि उत्तिकै उत्कर्षमा पुग्दैछ । केन्द्रीय नेतृत्वबीचको टक्करसँगै एकीकृत समाजवादीको भ्रातृ संगठनबाट विभाजन नै सुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालभित्र विद्रोह हुँदा संगठन नै दुई चिरा भएको छ । संयोजक कृष्ण विक र सह–संयोजक नितेश पौडेलबीच नेतृत्वका लागि विवाद भएपछि बढेको किचलोले समानान्तर अभ्याससम्म पुगेको छ । मातृ पार्टी महाधिवेशनमा होमिएका बेला भ्रातृ संगठन भताभुङग भएको छ । केन्द्रीय नेतृत्वको टकरावमा युवा संघ नेपाल बलीको बोको बन्न पुगेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच टकराब बढ्दा भ्रातृ संगठनबाट विद्रोहको सुरुवात भएको छ ।

संयोजक विक झलनाथ निकट हुन् भने पौडेल माधवका भान्जा हुन् । पार्टी नेतृत्वमा रहेका मामाले भान्जालाई भ्रातृ संगठनको नेतृत्व दिन खोज्दा समानान्तर नेतृत्व घोषणा हुन पुगेको हो । माधव र झलनाथकै आडमा युवा नेताहरु यो ढंगले प्रस्तुत भएकोमा दुई मत छैन । नजिकिएको महाधिवेशन, नेतृत्वमा नेताहरुको हानथापले बढेको टकराब र आन्तरिक कलह छताछुल्ला भएको छ ।

आगामी महाधिवेशनमा एकीकृत समाजवादीको केन्द्रीय नेतृत्वमा अध्यक्ष नेपाल र सम्मानित नेता खनाल भिड्ने लगभग निश्चित छ । एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी बनाउँदा एकै ठाउँमा उभिए पनि यी दुई नेता पार्टीभित्रै फरक फरक मत राख्छन् । फलतः नेपाल महाधिवेशनमा नेतृत्व नवीकरण गरेर थप बलियो हुने रणनीतिमा छन् । झलनाथ अध्यक्ष बन्दै पार्टी हाँक्ने ध्याउन्नमा छन् । सम्मानित नेताको दर्जामा रहेर यतिन्जेल शान्त रहेका खनाल अब भने पार्टी राजनीतिमा हाबी हुने रणनीतिमा देखिन्छन् ।

यो महाधिवेशनलाई केवल आफ्नो अध्यक्ष पद नवीकरण गर्ने अवसर ठानेका अध्यक्ष नेपाल गठबन्धनको हेपाईले थिचिएकै बेला खनालको बालुवाटार दौड र अभिव्यक्तिहरुले आत्तिएका छन् । नआत्तिउन पनि किन आफैँलाई हात समाएर निर्वाचन आयोगसम्म पु¥याएकी रामकुमारी झाँक्रीहरु अहिले खनाल कित्तामा पुगेका छन् । प्रेम आले लगायतका नेताहरु एमालेमा फर्किन मौका कुरेर बसेका छन् । अध्यक्ष नेपालले प्रचण्ड–ओलीको गठबन्धनसँग अपहेलित भएर बस्न नसक्ने भनिरहँदा खनाल अहिलेकै गठबन्धनलाई थप बलियो बनाउने होडमा देखिन्छन् । ओलीसँग नजिक खनालले पछिल्लो समय हिमचिम पनि बढाएका छन् । सायद यही दृश्यले होला महाधिवेशनको मुखमा पार्टी फुट्ने डरमा माधव छन् ।

चिठ्ठामा महासचिव पद हत्याएका घनश्याम भुसाल पनि माधव र झलनाथको झगडाको फाइदा उठाउँदै अध्यक्ष बन्ने दाउमा छन् । शीर्ष नेताको विकल्पमा भुसाललाई अघि सार्न तल्लो तहमासमेत छलफल चलाइएको चर्चा छ । असन्तुष्टिका चाङका बीच पार्टी जोगाएरै नेतृत्व चयन होला वा महाधिवेशनको मुखमा पार्टी टुक्रिएला ? एकीकृत समाजवादीभित्र चर्किदो कलहले यी दुई प्रश्नमाथि बहस थप बढ्न सक्ने देखिन्छ । यही चर्चाका बीच महाधिवेशनकै आसपास एकीकृत समाजवादीमा भुइँचालो आए नौलो मान्नु पर्दैन ।