Breaking

प्रचण्डले फेरि थापे ढोक्सा, माधव गलाउन अनेक चलाखी, मोदी र देउवाको जालझेल


काठमाडौँ – छिमेकी राष्ट्र भारतमा नरेन्द्र मोदीको भर्जन ३.० को उदयसँगै देशको आन्तरिक गठजोडमा समेत तलमाथि भइरहेको अवस्था नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू जोगिनतर्फ ध्यान दिइरहेका छन् । उथलपुथल गरेरै भए पनि सत्ता टिकाउन लागिपर्ने बताउँने प्रधानमन्त्री प्रचण्ड आफू शक्तिमा हुँदा नै सम्भावित घटनाक्रमलाई आकलन गर्दै मजबुत हुन खोजिरहेका छन् ।

पाँचै वर्ष सरकारमा रहने दृढ इच्छाशक्ति देखाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभित्र दाउँ खेलिरहन्छन् । कहिले बालकोटको बार्दली त कहिले बुढानीलकण्ठको ढोका चाहार्दै पटक पटक गठबन्धन फेरिरहने प्रचण्डको अस्थिर प्रवृत्ति नै अहिले उनको सत्ता लम्ब्याउने प्रमुख हतियार बनेको छ ।

उनको यही ब्रह्मास्त्र नै अहिले आफैंमाथि ब्याक फायर हुने डर सिर्जना हुँदैछ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको उठबसले प्रचण्ड त्रसिद भएका छन् । जेठ १६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको विपक्षी दलको बैठकमा माधवको पनि इन्ट्रीदेखि प्रचण्ड झन् सशङ्कित बनेका हुन् । विपक्षीसँग मिलेर आफ्नो प्रधानमन्त्री कुर्सी खतरामा परेको सङ्केत पाउना साथ जनता समाजवादी पार्टीलाई दुई टुक्रा बनाएका प्रचण्ड, माधवले दिने गरेका अभिव्यक्तिबाट पनि झस्किएका छन् ।

नेकपाको गठनदेखि नै हितैसी बनेका माधवले अहिलेको गठबन्धनबाट खुट्टा उचाल्ने सङ्केत गरेपछि प्रचण्ड उनलाई रिझाउन लागिपरेका छन् । पहिले मागेको मन्त्रालयमासमेत कटौती गर्ने सरकार अहिले प्रदेशमा मुख्यमन्त्रीको अफर गर्नेदेखि मन्त्रालय बढाएरै भए पनि माधवलाई आफँैसँग राख्ने भरमग्दुर कसरत गरिरहेको छ । माधवलाई गुमाउनु पर्नेबाट प्रचण्ड भयभित छन् भने प्रतिपक्षमा रहेको कांग्रेस यसैमा खेल्न खोजिरहेको छ । प्रचण्डले कांग्रेसलाई लात हानेर हिँडेपछि माधवसँग सम्बन्ध गास्न असफल भए पनि त्यसबाट कांग्रेसले हात झिकिहालको भने छैन । कांग्रेससँगको डिप लभलाई ब्रेकअप गरेर ओलीसँग सम्बन्ध जोडेका प्रचण्डलाई सत्ताबाट बाहिर मिल्क्याउन भगीरथ प्रयासमा नै रहेको कांग्रेसका नेताहरू अझै पनि माधवलाई साथमै लिएर अघि बढ्ने कोसिसमा छन् ।

चौथो पटक विश्वासको मत लिँदा जम्मा १५७ मत पाएका प्रचण्डलाई १० सिट रहेका माधवले मात्रै छोडेर केही पनि फरक नपर्ला तर, उनीमाथि २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सङ्कटको रुपमा घुमिरहेको छ । सहकारी ठगीमाथि छानविन गर्न बनेको संसदीय समितिले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने आबद्ध संस्थाको अनुसन्धान गर्ने भएपछि कांग्रेसले यसैलाई मुद्दा बनाएर लामिछानेले गृहमन्त्रीको पद त्याग्नु पर्ने खालको आशय राखिसकेको छ । नाङ्गो भइसक्दा पनि कपडा लगाएको झै भएर इज्जतका साथ बसेको भन्दै रविमाथि कटाक्ष गर्न सुरु भइसकेको छ ।

रवि गृहमन्त्रीबाट निस्किने अवस्था आयो भने रास्वपा पनि सरकारमा बस्ने सम्भावना न्यून छ । किन भने विगतमा रास्वपाले अपनाएको नजिरले यसैलाई पुष्टि गर्छ । यस्तो अवस्थामा रवि र माधव एकै पटक सरकारबाट बाहिरिए प्रचण्ड सत्ताबाट च्यूत हुने अवस्था आउने छ । भारतमा पुनः एक पटक नरेन्द्र मोदीले नै सत्ता आफ्नो हातमा लिइसकेपछि माधव र देउवालाई जोडेर ओली प्रचण्डको सत्ता ढाल्ने विश्लेषण हुन थालिसकेको छ । सत्ता टिकाउन जस्तो सुकै उथलपुथल गर्न पनि तयार भएका प्रचण्डसँग अब माधवलाई रिझाउने बाहेक अन्य विकल्प देखिँदैन ।

भारतमा चुनाव सकिएको अवस्थासँगै नेपालको सत्ता परिवर्तन हुने सम्भावन बढेर जान्छ । देउवालाई छोडेर प्रचण्डले ओलीसँग कुम मिलाउँदै बनेको अहिलेको यो सत्ता गठबन्धन मोदीले चाहेर बनेको होइन । यस्तो अवस्थामा मोदीलाई चिढ्याएर बनाएको यो गठबन्धनलाई भत्काएर नयाँ वा पुरानै गठबन्धनलाई बित्याउन मोदी लाग्ने जानकारहरु बताउँछन् । यी सबै बुझेका प्रचण्ड दूरदर्शी हुँदै सम्भावित घटनाक्रमलाई पहिले नै आकलन गरेर आन्तरिक जोड घटाउँमा ध्यान दिइरहेका छन् । साम, दाम, दण्ड र भेद जुन सुकै उपाय अपनाएर भए पनि सरकारको नेतृत्वमा बस्न चाहने प्रचण्ड आफू बच्न माधवलाई रिझाउनेदेखि अनेक दाउँ गरिरहेका छन् ।