Breaking

झापामा सशस्त्र प्रहरी र व्यापारीबीच लफडा, नाकामा सामान ओसार पसारको विवाद (भिडियोसहित)


काठमाडौँ— झापामा सशस्त्र प्रहरीले कानुन बमोजिमको बिलबिजक भएको सामान पक्राउ गरी लिलामीको लागि भन्सारमा बुझाएको तथ्य फेला परेको छ । सशस्त्रले काम देखाउने र कमिसन पाइने लोभले दादागिरी शैलीमा लत्ताकपडा गोदाममा छापा मारेर करिब २५ लाख रुपैयाँ पर्ने बिलबिजक भएको कपडा बेवारिसे भन्दै मेची भन्सारमा बुझाएको पाइएको हो ।झापाको कचनकवल गाउँपालिका–६ बनियानी बजारस्थित एके सप्लायर्सले कानुन बमोजिमको सबै कर तिरेर भण्डारण गरेको कपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीले बेवारिसे भन्दै जबरजस्ता कब्जामा लिएको पाइएको छ । स्थानीय जमनाल मियाँको घर भाडा लिएर राखिएको पसलको सामान गोदामबाट सशस्त्र प्रहरीले जबरजस्ती उठाएर लगेको सप्लायर्सका सञ्चालक अरुण साह बानियाँले आरोप लगाएका छन्।सबै बिलबिजक देखाउँदापनि जबरजस्ती सामान प्रहरीले लगेर मेची भन्सारमा बुझाएको उनले बताए । उनले कमिसनको लाइन मिलाउन व्यापारी तर्साउने काम भएको बताए ।

गत जेठ ७ गते दिउँसो सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी प्रभातकुमार गौतम नेतृत्वको टोलीले सामान राखिएको मियाँको घर गोदाम घेराउ गरेको थियो । बिलबिजक भएको लत्ताकपडा सशस्त्रले जबरजस्ती लैजान खोज्दा व्यापारीसँग विवाद भएको थियो। व्यापारी साहले राजश्व कर्मचारी नआएसम्म गोदामको ताला नखोल्ने अडान लिएपछि विवाद झन् बढेको थियो।
लगतै सशस्त्रले आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर्मचारीलाई बोलाएको थियो। राजश्वका कर अधिकृत तिलक थापामगर र नायब सुब्बा विशाल काफ्ले घटनास्थल पुगे। त्यसपछि व्यापारी साहले गोदामको ताला खोलिदिए। साहले बिलबिजक देखाएपछि सोही अनुसार राजश्वका कर्मचारीहरूले सामान चेकजाँच गरेका थिए।बिलबिजक अनुसारको सामान यकिन गर्न नसकेपछि सशस्त्रलाई जिम्मा लगाएर हिँडेको कर अधिकृत थापामगरले बताए। बिलबिजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकडभिट्टालाई बुझाएको छ।
सशस्त्रले भारतबाट अवैध रूपमा चोरी तस्करी गरी लुकाइछिपाई गोदाममा राखिएको भन्दै २३ पोका कपडा४८ लाख १८ हजार ७०० मूल्य तोकेर सोमबार नै मेची भन्सारमा बुझाइसकेको छ। सशस्त्रले बेवारिसे अवस्थामा भेटिएको भनी सामान भन्सारमा बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

तर, सशस्त्रका डीएसपी प्रभातकुमार गौतमले सबै सामान उल्लेखित भ्याट बिलको ओसी कपीलगेको व्यवसायीको दाबी छ ।
यता, गोदाममा छापा मारेर कपडा लगेको सशस्त्रले भने स्थानीयलाई झुठो मुचुल्कामा हस्ताक्षर गराएको पाइएको छ । सशस्त्रले झुक्याएर मुचुल्कामा हस्ताक्षर गराई प्रमाण खडा गरेको स्थानीयको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा कानुनविपरीत मेची भन्सारमा उक्त सामान बुझ्न बाध्य भएको भन्सार स्रोतले बताएको छ ।