Breaking

निरन्तरको खबरदारी र जनपक्षीय समाचार सामग्रीलाई अझ सशक्त बनाउँछौँ : अध्यक्ष शेर्पा


काठमाडौँ – योहो टेलिभिजन एचडीका अध्यक्ष आङकाजी शेर्पाले राष्ट्र, राष्ट्रियता, भावानात्मक एकता, सार्वभौमिकता र अखण्ड नेपाललाई अक्षुण राख्न टेवा पुग्ने गरि भूमिका निर्वाह गर्न कटिवद्ध रहेको बताउनुभएको छ ।

टेलिभिजन सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शेर्पाले जनताको विश्वासलाई कायम राख्दै अझै जनपक्षीय समाचार सामग्रीहरू तयार गर्दै जाने अठोट गर्नुभएको छ । उहाँले पत्रकारिताको माध्यमबाट संविधान प्रदत्त अधिकारलाई शिरोधार्य गर्दै निरन्तरको खबरदारी र कलम यात्रालाई थप सशक्त बनाएर लाने दृढता पनि व्यक्त गर्नुभएको छ ।

खोजमुलक, तथ्ययुक्त, सन्तुलित समाचार सम्प्रेषण गर्ने र सदैव नीति निर्माता तथा राज्यका अंगहरूलाई सचेत गराउने कर्ममा टेलिभिजन दृढ रहेको बताउनुभएको छ । टेलिभिजनसँग सहकार्य गर्ने सम्पूर्ण शुभचिन्तक, विज्ञापनदाता, आम दर्शक महानुभावहरूप्रति अध्यक्ष शेर्पाले आभार प्रकट गर्नुभएको छ ।

आगामी दिनमा पनि रचनात्मक सुझावसहित साथ सहयोगको अपेक्षा उहाँले गर्नुभएको छ । आगामी दिनमा योहो टेलिभिजनलाई थप परिस्कृत, स्वस्थ प्रतिस्पर्धात्मक, आधुनिक प्रविधिमैत्री बनाउने सञ्चालक समितिको योजना रहेको छ ।

अध्यक्ष शेर्पाले भन्नुभएको छ, ‘छोटो समयमा पाएको यो सफलतालाई आगामी दिनमा हामी थप सशक्त र परिस्कृत ढंगले अगाडि बढाउने छौँ । हाम्रो यो यात्रामा निरन्तर रुपमा साथ दिने तपाईं सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’