Breaking

कर्णालीमा कृषि मन्त्रालय नै लिन तयार भए विनोदकुमार शाह, आज शपथ लिने


काठमाडौँ— यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता विनोदकुमार शाह अन्ततस् सोही मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुने भएका छन् ।

शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् ।

मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्‍बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेका थिए ।

कर्णालीमा कँडेल र शाहले पार्टीभित्र छुटाछुटै गुट चलाउँदै आएका छन् । प्रदेशमा कँडेलले एकलौटी गरेको भन्दै शाहले काठमाडौँ गएर केन्द्रका नेतासँग छलफल गरेका थिए । पार्टी केन्द्रको दबाबपछि मुख्यमन्त्री कँडेलले शाहलाई मनाएर कृषि मन्त्रीमा नियुक्त गरेको एमाले स्रोतको भनाइ छ ।