Breaking

अभिनेत्री छिरिङ शेर्पाले गरिन सगरमाथाको सफल आरोहण

भन्छिन्– आरोहीलाई राज्यले उचित सेवा सुविधा दिनुपर्छ


काठमाडौँ – अभिनेत्री, मोडल तथा डान्सिङ स्टार नेपालको विजेता छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ ।

छिरिङले ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ भन्ने नारासहित गत मे १९ तारिख अर्थात् २०८१ जेठ ६ गते आइतबार बिहान ९ बजे सगरमाथाको शिखरमा पुग्नुभएको हो ।

शेर्पाले आफ्नो सगरमाथा आरोहण प्रतिस्पर्धा र कीर्तिमानका लागि नभई सगरमाथा आरोहणमा कटिबद्ध आरोही र आरोहणका क्रममा ज्यान गुमाएका शेर्पाहरूप्रति समर्पित रहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले शिखरमा पुग्नका लागि गर्नुपर्ने संघर्ष र जीवन मृत्युको त्यो क्षणलाई पनि अनुभूत गर्न पाएको बताउनुभयो ।

सगरमाथा आरोहणबाट संकलित राजस्वको केही हिस्सा सगरमाथामै लगानी गर्नुपर्ने र सगरमाथा आरोहीहरूलाई राज्यले उचित सेवा सुविधा उपलब्ध गर्नुपर्ने माग छिरिङको छ । उहाँले एट् के एक्सिपिडिसन आरोही दलबाट सगरमाथा आरोहण गर्नुभएको हो ।

लामो समयदेखि मोडलिङ क्षेत्रमा क्रियाशील शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको कालापत्थरमा नृत्य गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्तासमेत गर्नुभएको छ ।

उहाँ शेर्पा समुदायकी पहिलो अभिनेत्री हुनुहुन्छ । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी छिरिङले ‘कार्साङ’ फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । छिरिङले पहिलो पटक ‘कार्साङ’ चलचित्रमा अहिलेका चल्तीका नायक दयाहाङ राईसँग अभिनय गर्दै हुनुहुन्छ ।