काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच छेडिएको द्वन्द्व झनझन उग्र बन्दै गएको छ । सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन हुनु पर्ने बटमलाइन बनाएको कांग्रेस आफ्नो मागमा टसमस नगर्ने र सरकार प्रतिपक्षसँग सहमति भन्दा पेलेरै जाने रणनीतिमा देखिँदा यो विषय थप पेचिलो बन्दै गएको छ । चुनावी गठबन्धनदेखि सत्तारोहणमा एकले अर्कालाई सघाएका प्रचण्ड र कांग्रेस अहिले कटु सत्रु मात्र बनेका छैनन् एकअर्काविरुद्ध धम्कीमै उत्रिएका छन् ।
१७ महिनादेखि सत्ताको बागडोर सम्हाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई करिब १३ महिना कांग्रेसकै भरथेग मिल्यो । चुनावी गठबन्धनलाई चक्मा दिँदै बालकोटको बलमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता निर्माणको दुई महिनामै एमाले अध्यक्ष केपी शर्मा ओलीले फनफनी घुमाएपछि कांग्रेस कित्तामा फर्किएका थिए । सत्ता सबथोक ठान्ने कांग्रेसले बिना हिचकिचाहड फेरि प्रचण्डलाई बोक्यो । झन्डै १३ महिना प्रचण्डको पद जोगाउँदै कांग्रेस सत्ता सुविधामा रह्यो । कांग्रेसको भरथेगमा सत्ता टिकाएका प्रचण्ड दोस्रो पटक कांग्रेसलाई धोकेबाज करार गर्दै गत फागुनमा तेस्रो पटक सत्ता उलटफेर गर्न भ्याए । संसदको सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पछारियो ।
सत्ता रजगजमा रहेको कांग्रेस प्रतिपक्षमा थन्किएपछि प्रचण्डसँग बदला लिन कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पटक पटक प्रधानमन्त्रीको अफर दिनदेखि सत्तामा फर्किन अनेक तिकडमबाजी नगरेको होइन । ओली फकाएर प्रचण्ड पछार्ने कांग्रेसको चाल सफल नभएपछि सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि कांग्रेसलाई सरकारको विरोध गर्ने गतिलो चारो मिल्यो । कांग्रेसले सरकार गलाउन रविलाई अस्त्र बनाएको छ । सत्ता गुमेको बदला लिन रवि र सहकारी प्रकरण कांग्रेसको गतिलो ढाल बनेको छ । कांग्रेस अहिले आफ्नो सबै शक्ति खर्चेर सरकारविरुद्ध सडक र सदन तताइरहेको छ । यसअघि कांग्रेसको मागमा सकारात्मक रहेका प्रधानमन्त्री प्रचण्ड सोमबार संसदमा कांग्रेसको भूमिकापछि रुष्ट मात्र भएनन् सदनको रोष्ट्रमबाट धम्की नै दिन भ्याए । आफूलाई अफ्ठ्यारोमा सघाउने कांग्रेसलाई प्रचण्डले विरोधको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
सहकारी ठगी प्रकरण र संसदीय छानविन समिति गठनबारे सत्ता घटक एमाले र रास्वपा अझ भनौँ ओली–रवि एक मुख रहँदा कांग्रेसको मागमा सकरात्मक हुँदै सहमति जुटाउन पटक पटक पहलसमेत गर्दै आएका प्रचण्ड आफैँ कांग्रेसविरुद्ध खनिए । सोमबार सदनको रोष्ट्रमबाटै प्रधानमन्त्री प्रचण्डले दिएको धम्कीको प्रतिउत्तरमा कांग्रेस थप आक्रमक बनेको छ । कांग्रेस र प्रधानमन्त्री प्रचण्डको भिडन्त उत्कर्षमा पुगेको छ ।
कुनै बेला ओली गलाउन एकढिक्का भएका प्रधानमन्त्री प्रचण्ड र कांग्रेसको अझ चर्किने पक्का छ । सत्तापक्ष र प्रतिपक्षबीच दूरी कायम हुनु स्वभाविक हो तर अहिले सत्तापक्ष र प्रतिपक्षका सांसदबीच नै व्यतिगत रुपमा आक्षेप लगाउने क्रम बढ्दै गएको छ । सरकार र प्रतिपक्षबीचको जारी संघर्षको निकास कसरी निस्कन्छ थप चासोपूर्ण बन्दै गएको छ । यद्यपि, सत्तारुढ दलका नेताहरु भने सत्तापक्ष र प्रतिपक्ष मिलेरै अघि बढ्ने दाबी गरिरहेका छन् । मिलेर जानुको विकल्प नभएको उनीहरुको तर्क छ ।
सहकारी प्रकरणमा संसदीय छानविन समितिको विषय सुल्झाउन नसक्दा सदन निरन्तर बन्धक बन्दै आइरहेको छ । प्रतिपक्षलाई पेलेरै अघि बढ्ने सरकारको रणनीतिले संसदको हरेक दिनको दृश्य रमिता बनिरहेको छ ।
प्रतिक्रिया