Breaking

सहरीमन्त्रीसँग ७ वटा घर, डेढसय तोला सुन


काठमाडौँ— सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित ७ वटा घर रहेको देखिएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

त्यसमा सहरी विकासमन्त्री बुढाकै नाममा डोल्पाको ठूलोभेरी नगरपालिका–३ मा ५ रोपनीमा बनेको ४ वटा घर रहेको देखिएको छ । यस्तै सोही स्थानमा श्रीमती हिमाली बुढाको नाममा ७ तल्ले घर एउटा छ ।

काठमाडौं महानगरपालिकामा नै श्रीमतीको नाममा बुढाले १६ आना र २० आना जग्गामा बनेको ३–३ तल्ले दुइटा घर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले उक्त घरजग्गाको स्रोत पैतृक तथा व्यापार व्यवसायलाई देखाएका छन् । उनकी श्रीमतीको नाममा काठमाडौं–६ मा ६ आना क्षेत्रफल भएको घडेरी समेत छ ।

मन्त्री बुढासँग १ सय ५० तोला सुन र ३ सय तोला चाँदी छ । उक्त सुनचाँदीको स्रोत पनि उनले पैतृक र व्यापार उल्लेख गरेका छन् । मन्त्री बुढाको बैंक खातामा १५ लाख र उनकी श्रीमतीको नाममा ४५ लाख छ । उनीसँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।