Breaking

सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरमा पुग्यो


काठमाडौँ— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ ।

सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् ।

सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर कँडेलसहितको टोली रहेको छ । सिरोहियाले न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारी दिने बताएका छन् ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।