Breaking

मोरङ कारागारमा कैदीको मृत्यु


काठमाडौँ— मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

खाना खाएर बसेका बेला आज बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर थापा ढलेका थिए ।

मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको उनले बताए । यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको र थापाले नियमित औषधि सेवन गरिहरको जानकारी बरालले दिए ।

थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।