Breaking

नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब बढी


काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।

गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसारमा उल्लेख छ । निर्यात एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको मात्र भएको उल्लेख छ । विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा भारतसँग नेपालले ७ खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।

भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ ।

यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।