Breaking

संसदको अवरोध हटाउन बालुवाटारमा वार्ता, सहमति हुने विश्वास


काठमाडौँ – संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक लेखक सहभागी छन्।

कांग्रेसका नेताहरुसँग हिजै बेलुका छलफल गर्ने भनिए पनि प्रधानमन्त्री व्यस्त भएका कारण आजका लागि सरेको थियो। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा वार्ता र संवाद भए पनि निश्कर्षमा पुग्न सकेको छैन। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम किटान गरेर छानविन समिति माग गरिरहँदा प्रधानमन्त्री तयार भए पनि रास्वपा र एमालेले सहमति जनाएका छैनन्।

यस्तै, संसदकै गतिरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले पनि आजै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै छन्। घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार दिउँसो २ बजे बालुवाटारमा छलफल हुने तय भएको छ। प्रतिपक्षी दलका नेताहरुसँग पनि सभामुखले छलफलको योजना बनाएका छन्। तर समयको टुंगो लागिसकेको छैन। कांग्रेसले निरन्तर अवरोध गर्दा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्।

बिहीबारको बैठकमा अवरोधकै बाबजुत सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि मुठभेडकै अवस्था बनेको थियो। हिजो ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिए पनि प्रतिपक्षीहरु संसद खुलाउन तयार नदेखिएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बोलाइएको छ। त्यसअगावै एक किसिमको सहमतिमा पुग्ने सरकार पक्ष र सभामुखको विश्वास छ।