Breaking

ओलीमाथि आगो ओकल्दै शेखर, कांग्रेसको विद्रोह ट¥यो, गिरीबन्धुमा ओलीलाई लपेट्दै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डाक्टर शेखर कोइराला आमनेसामने भएका छन् । ओलीको आडमा सत्ताको सपना देखेर यत्तिका समय ओलीलाई नै बोकेर नथाकेका कोइराला ओलीको यू–टर्नपछि सार्वजनिक मञ्चमै कड्किन थालेका छन् । सौहार्दपूर्ण ओली–शेखरको सम्बन्धमा कसरी दरार बढ्यो त ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डाक्टर शेखर कोइरालाबीचको एकमतताको चर्चा सायदै गर्नु नपर्ला । पार्टी फरक, राजनीतिक विचार फरक तर सत्ता राजनीतिबारे डेढ वर्षदेखि एकले अर्कालाई काँध थापेर नथाकेका यी दुई नेता सधैँ एक मुख रहे । तत्कालीन कांग्रेस–माओवादी गठबन्धनको सरकार हुँदा ओलीले रोष्ट्रमबाटै कांग्रेस सभापति शेरबहादुर देउवा फकाउन भ्याउँदा कांग्रेस संस्थापनइतरको नेतृत्व गर्ने कोइराला आफ्नै नेताहरुले नेतृत्व गरिरहेको सरकारको कट्टर विरोधी भए । ओलीले प्रधानमन्त्रीको अफर गरेपछि पार्टी नै फुटाउन उक्सिएका कोइरालाले पार्टी नफुटाए पनि कोशीमा विद्रोह गरे ।

एमालेको बुई चढेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने रणनीति केन्द्रमा देउवाको हठका कारण असफल भए पनि कोशीमा गरेको विद्रोह सफल भयो । एमालेसँग मिलेर शेखरले कोशीमा मुख्यमन्त्री हत्याए । आफ्नो गुटको नेता केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाए । कांग्रेसभित्र शेखरको विद्रोह यत्तिमा मात्रै सीमित रहेन ।


राष्ट्रिय सभा सदस्य चयनमा कोशीमा सत्ता साझेदार माओवादीलाई धोका दिएर एमालेलाई भोट हाले । सत्तामा रहँदा होस् या प्रतिपक्षमा पुग्दा शेखर ओलीकै इसारामा नाचिरहे । तर कोशीमा ओलीलाई शेखरको नचाई मन परेन । कारण कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराउन लागेका ओलीको चालमा शेखर बाधक बने । कोशीमा कांग्रेस एकढिक्का भएर सिटौलालाई राष्ट्रिय सभा छिराउन सफल भयो । त्यसपछि सुरु भएको दरारले शेखर ओलीको खटपट अहिले घम्साम्सीमै पुगेको छ । गृहमन्त्री रवि लामिछानेको रक्षाकवच बनेर प्रस्तुत भई रहेका ओलीविरुद्ध कांग्रेस अहिले एकढिक्का भएर उभिएको छ । रविको बचाउमा ओलीले दिएको प्रतिक्रियालाई शेखरले झापट हानेका छन् ।

विगतमा सरकारको विरोध गर्न मात्र होइन पार्टी सभापति शेरबहादुर देउवासँग पानी बाराबारको अवस्थामा रहेका पार्टी नेतृत्वलाई गाली गर्नसमेत ओलीकै शब्द सापटी लिने कोइराला अहिले ओलीकै विरोधमा बोल्न थालेका छन् । विगतमा कांग्रेस–एमाले मिलाउन जिउ ज्यान दिएर लागेका कोइरालाले यो अवधिमा पनि देउवाको दूत बनेर बालकोट भने नधाएको होइन । सत्तारोहणको छटपट्टीमा देशलाई स्थिरता र विकास दिन कांग्रेस एमाले मिल्नुको विकल्प नभएको भन्दै कोइरालाले ओली–देउवा मिलाउने लबिङको नेतृत्व गरेकै हुन् ।

ओलीको उक्साहटमा एमाले कांग्रेस मिलाउन कस्सिएका उनी पटक पटक बालकोट धाउँदासमेत ओली टसमस भएनन् । बरु उल्टो कोशीमा आफैँले बनाएको सरकार ढालेर केन्द्रको नयाँ समीकरण अनुसार सरकार गठन गरेपछि कोइराला रुष्ट बनेका छन् । एमाले अध्यक्ष ओली मुछिएको गिरीबन्धु टी–इस्टेट प्रकरण र उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथिको सहकारी प्रकरणमा एकढिक्का भएको कांग्रेस ओलीविरुद्ध एकमत देखिन्छ। शेखर कोइराला, महामन्त्री गगन थापासमेत ओलीमाथि खनिन थालेका छन् । तथापि, शेखरले ओलीसँगको सम्बन्ध नबिग्रिएको भन्दै बचाउ गरेका छन् ।

एमाले कांग्रेस एक हुने सवालमा शेखरको ताकेताकाबीच ओलीले कांग्रेससँग मिल्ने संकेत नदेखाएपछि शेखर ओलीसँग बादविवादमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

प्रधानमन्त्री प्रचण्डले धोका दिएपछि झस्किएको कांग्रेस अहिले गुटगत रुपमाभन्दा पनि पार्टी एकढिक्का भएको सन्देश दिइरहेको छ । प्रचण्ड–ओली कांग्रेस गलाउन लागेको विश्लेषणसहित वार कि पारको रणनीतिमा रहेको कांग्रेस सत्ता गठबन्धन बिथोल्न कम्मर कसेर लागेको छ । पार्टीको बचाउमा शेखर कोइराला अहिले ओलीविरुद्ध उभिएपछि उनीहरुबीचको सम्बन्ध दुस्मनीमै परिणत हुँदै गएको छ ।