Breaking

रविको घाँटीमा कांग्रेसको घण्टी, ओलीले बोकेरै सके, प्रचण्डलाई रविले थर्काए


काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो पटक सत्तामा फर्किदा जति गदगद थिए सत्ता यात्राको दुई महिना नबित्दै उनी खर्लप्प गलिसकेका छन् । सत्तामा उनको उदयसँगै सुरु भएको सहकारी प्रकरणले रवि हायलकायल छन् । सहकारीकै गलपासोले आफ्नो राजनीति सक्किने डरमा रवि छन् ।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता उलटफेर गरेपछि दोस्रो पटक बडो जोशका साथ सत्तामा कमब्याक गरेका रवि लामिछाने जुन जोशका साथ सत्तामा फर्किएका थिए दुई महिनामा फतक्कै गलिसकेका छन् । सहकारी ठगी प्रकरणमा लामिछानेमाथी छानविन गर्न संसदीय छानविन समिति बटमलाईन बनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रविलाई लखेटी रहेको छ ।

प्रतिपक्षको खेदाईमा परेका उनी आत्मसमर्पण वा सरकारबाट आउट हुने भन्ने द्विविधाको संकटमा छन् । सडकदेखि सदनसम्मै कांग्रेसको खेदाईले हैरान रविले सदनमा बोल्न पाउनुपर्ने माग निरन्तर उठाइरहेका छन् । आफुमाथी लागेको यत्ति ठूलो आरोपमा एक बचन बोल्न पाउँ भन्दै हारगुहार नै गरिरहेका छन् । आफूमाथि घिनलाग्दो मिडिया ट्रायल भएको बताउँदै उनले सामाजिक सञ्जालमा आक्रोशसमेत पोखेका छन् ।

संसदीय छानविन समिति बनाउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भए पनि आफ्नो नाम नै किटान हुने सवालमा रवि तयार नहुँदा यो विषय थप पेचिलो बनेको छ । यो विषयमा सत्तारुढ गठबन्धन नै दुई धारमा उभिएका छन् । सरकारबाट आफू बाहिरिएर पार्टीलाई सत्तामै राख्ने वा के गर्ने भन्ने विषयमा रवि र रास्वपा छलफलमा छन् ।

एकसातामा आधा दर्जन भेट र घनिभूत छलफल गर्दासमेत शीर्ष नेतृत्वले यो विषयलाई निकास दिन सकेका छैनन् । दलहरु आ–आफ्नै अडानमा रहँदा सहमति जुट्न सकेको छैन । फलत संसद्मा एकपटक बोल्न पाउनुपर्ने रविको चित्कार सुन्ने पक्षमा प्रतिपक्ष देखिँदैन । कांग्रेसले आफ्नो विरोधलाई थप उदण्ड बनाएको छ । हात धोएरै रविको पछि लागेको कांग्रेस कुनै पनि हालतमा ब्याक हुने पक्षमा छैन ।

सञ्चारकर्म छोडेर राजनीति रोजेका रास्वपा सभापति रवि लामिछानेलाई चुनाव जति फापेको थियो, त्यसअनुसार सत्ता फाप्न सकेको छैन । पहिलो पटकको सत्ता यात्रामा नागरिकता विवादले सांसद पदसँगै गृहमन्त्रीबाटै पदमुक्त हुन पुगेका थिए । उपनिवार्चनमार्फत फेरि संसद छिरेका उनलाई अहिले सहकारी प्रकरण गलपासो नै बनेको छ ।

यही प्रकरणले आफ्नो राजनीति नै सक्किने चिन्ता पनि उनलाई छ । राजनीतिमा बामे सर्दै गरेका लामिछानेले चुनावमा पुराना दलको घण्टी त बजाइ दिए । तर, सत्तामा पुगेलगत्तै तिनै पुराना दलमध्येको कांग्रेसले उल्टो उनको घण्टी बजाइदिएपछि अहिले उनी हायलकायल बनेका छन् ।