Breaking

प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए । यस विषयमा प्रधानमन्त्री प्रचण्डले विहीबार बेलुका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।