Breaking

संसदको साँढे जुधाई : भिडाउने ओलीमाथि धनराजको निसाना, प्रकाशशरणले किन झम्टिए प्रचण्ड ?


सत्ता र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसको अवरोधकैबीच सत्तारुढ दलले पेलेर जान खोजेपछि स्थिति असामान्य बनेको हो ।

निर्वाचनमा बुथ कब्जा गरेर सांसद बनेका धनराज गुरुङले धन्नै केपी शर्मा ओलीको शीर फुटाएनन् । संसदमा देखिएको यो निर्लज्ज दृश्यमा धनराज गुरुङ सांसदभन्दा बढी पाखुरे रेस्लर देखिए । माहोल शान्त पार्नुपर्नेमा एमाले सांसद पनि आफ्नो हैसियत बिर्सिएर शक्ति प्रदर्शन गर्न भिड्ने अवस्थामा पुग्दा बिहीबारको प्रतिनिधिसभा बैठक थप तनावपूर्ण बन्यो । कांग्रेस सांसद गुरुङ र एमाले अध्यक्ष ओली तथा अर्का कांग्रेस सांसद प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै हात हालाहालकै अवस्था बन्यो । सांसदहरु धक्कामुुक्कीमा उत्रिदा बैठकको माहोल अशान्त बन्यो । प्रधानमन्त्री शान्त रुपमा आफ्नै आशनमा बस्दा एमालेका सांसद नै वेलमा पुगेपछि अध्यक्ष ओलीसमेत शक्ति देखाउन अग्रपंक्तिमा उभिन पुगे ।
सांसदहरु अमर्यादित बन्दै हात हालाहालकै अवस्थामा उत्रिए । प्रधानमन्त्रीमाथि नै कांग्रेस नेताहरु जाइलागेपछि रक्षामन्त्री हरि उप्रेतीले नै प्रधानमन्त्रीको रक्षा गर्नुपर्ने अवस्था आइपुग्यो । जहाँ प्रधानमन्त्रीसमेत कांग्रेसलाई केही सम्झाउन खोजेजस्तो देखिए पनि प्रकाशशरणले भने अर्थमन्त्रीबाट हटाउँदाको तुष पोखेकै दृश्य देखियो । यो कँही बाहिरको नभई नेपालको संघीय संसदको दृश्य हो । सम्भवतः संसदीय इतिहासकै र्निलज्ज तस्बिर बिहीबारको प्रतिनिधिसभा बैठकमा देखियो । तर, यो अवस्था एक्कासी बनेको चाहि होइन ।

बुधबार संसदीय दलको बैठकमा ओलीले दिएको अभिव्यक्तिले नै संसदमा मुठभेडको संकेत गरिसकेको थियो । तर प्रतिपक्षीलाई पेल्दै सभामुखले समेत राष्ट्रपतिबाट प्राप्त पत्र सुनाउन थालेपछि अरु प्रतिपक्षी दलहरुले समेत उठेर विरोध जनाए । यसबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नाराबाजी भइरहेको बैठकको माहोल झनै भाँडियो ।

सत्ता र प्रतिपक्षका सांसदबीच हात हालाहालको अवस्था सिर्जना भएर माहोल भाँडिएपछि तत्काल सभामुखले गृहमन्त्रीलाई आफ्नो आशनमा बस्न आग्रह गरे । अवस्था थप बिग्रिन नदिन लगत्तै सभामुखले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । दिनभर संसद खुलाउन सहमतिको प्रयास गरेका दलहरु ठोस सहमति नभइ संसद अघि बढाउन अग्रसर भएपछि मुठभेठको अवस्थामा सांसदहरु उत्रिएका हुन् । संसदमा भिडेपछि बाहिर निस्कदा पनि नेताहरुमा धक्कामुक्कीको धङधङीमा कमी आएन । दुबै पक्ष दोषारोपणमा उत्रिए ।

संसद चलाउने सहमति गर्न बिहान १० बजेदेखि नै सांसदहरु संसद परिसरमै थिए । दलहरुले संसदमा अनिवार्य रुपमा उपस्थित हुन ह्वीप जारी गरेका थिए । आजको संसद चल्ने लगभग टुंगो नै भइसकेको थियो । त्यसकै लागि बिहान ११ बजे बोलाइएको बैठक पनि दिउँसो चार बजेका लागि सारियो । सभामुख सहित शीर्ष दलका नेताहरु संसद भवनमै छलफलमा जुटे । सहकारी समस्याबारे संसदीय छानविन समिति गठन गर्नेबारे सबै सकारात्मक देखिएपछि कांग्रेसले रवि लामिछानेलाई बोल्न दिनेसमेत सहमति बन्यो । लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । सो बैठकमा प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई बोल्न दिन कांग्रेस तयार भएको ब्रिफिङ पनि गरे ।

छानविन समिति बनाउन रवि पनि तयार भए । प्रचण्डले पनि तपाईं दोषी होइन भने ‘तपाईंको नाम मात्रै लेख्दा के फरक पर्छ र कांग्रेसले भनेअनुसारकै समिति बनाउँ’ भनेर मनाउन खोज्दा आफ्नो नाम किटान गरेर समिति नबन्ने अडान रविले दोहो¥याए । मन्त्रीपरिषद्को यो किचलो थाहा पाएको कांग्रेसले लगत्तै संसद चल्न नदिने निर्णय सुनायो । फलतः बिहान ११ बजेको प्रतिनिधिसभा बैठक अपराह्न चार बजेलाई सारिएको थियो । तर, सारिएको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला बसे लगत्तै कांग्रेस सांसदले अवरोध गरे ।

संसदमा कांग्रेसको अवरोध र उठाइएका मुद्दाको दायरा कांग्रेसका लागि फराकिलो बन्दै गएको छ । त्यसमाथि प्रचण्डको पनि साथ पाएपछि कांग्रेस हौसिएको थियो । कांग्रेसले गिरीबन्धुमा ओलीलाई डाम्ने रणनीति लिएपछि समिति बनाउने एमाले पनि सकारात्मक भएको थियो । तर लामिछानेले नै आफ्नो नाम आएको समिति नबन्ने अडान लिएपछि उनले आफ्नै कारण बोल्न पाएनन् । बरु संसद मुठभेडतर्फ अघि बढ्यो । सहमतिको प्रयास भइरहे पनि सभामुखको समेत प्रयोग गरेर सहमति भाड्ने काम भएपछि संसद चलाउने बिषय झनै सकसपूर्ण बन्ने निश्चित भएको छ ।