Breaking

प्रतिनिधि सभाको बैठक स्थगित


काटमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बिहीबार साँझ पौने ६ बजे सुरू भएको प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित भएको हो।सभामुख देवराज घिमिरेले जेठ ४ बिहान ११ बजेका लागि बस्ने गरी बैठक स्‍थगित गरेका हुन्।

सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए।

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेले बोल्न समय माग गरेकोले समय दिएको जानकारी गराएका थिए। गृहमन्त्री लामिछाने बसेको ठाउँबाट उठेका थिए।गृहमन्त्री उठेपछि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए।

त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच कुराकानी भएको थियो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन्।
सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए। साथै सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।