Breaking

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार अपराह्न बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि सहयोग गरिदिन कांग्रेस सांसदहरूलाई आग्रह गरेका थिए। सांसद आनन्द ढुंगानाले बोल्न समय माग गरेका थिए। लगत्तै सत्ता पक्षका सांसदहरूले पनि आफूहरूले पनि बोल्न पाउनुपर्ने बताएका थिए।

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका छन्। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

तर सत्ता पक्षले समग्र सहकारीबारे छानबिन गर्न समिति गठन गर्न सकिने बताइरहेका छन्। कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै प्रतिनिधि सभामा सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेको थियो। यो मागमा सत्ता पक्ष तयार नभएपछि कांग्रेसले राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ।