Breaking

पार्टीको माथिल्लो पदमा रहेकाहरूको क्षमता भएनः घनश्याम भूसाल


काठमाडौँ— नेकपा एकीकृत समाजवादी केन्द्रका महासचिव घनश्याम भूसालले पार्टीको माथिल्लो तहमा रहेका नेताहरूले क्षमताको विकास गर्न नसकेको बताएका छन्।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा संगठनात्मक प्रतिवेदन पेश गर्दै भूसालले जिम्मेवारी र क्षमताको तालमेल नहुँदा माथिल्लो तहमा रहेका नेताहरूले काम गर्न नसकेको बताएका छन्।

‘नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरूको ठूलो सङ्ख्या हाम्रो पार्टीमा आएको थियो। लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौं कमरेडहरूको क्षमताको स्तर वर्षौं पुरानो छ तर अहिले उहाँहरू पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ,’ भूसालले प्रतिवेदनमा लेखेका छन्,‘जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयौं कमरेडहरूले साङ्गठनिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ।’

पार्टीका पुराना र नयाँ नेताहरूबीच तालमेल नहुँदा पनि माथिल्ला कमिटीहरूमा समस्या देखिएको महासचिव भूसालको प्रतिवेदनमा उल्लेख छ।

‘तुलनात्मक रूपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरू र तुलनात्मक रूपले पुराना तर जिम्मेवारी अनुसार सक्रिय हुन नसकेका कमरेडहरूका बीचमा हुने अन्तरविरोधहरूले पनि माथिदेखि तल्ला कमिटीहरूमा समस्या देखिएका छन,’ भूसालले प्रतिवेदनमा भनेका छन्, ‘हामीले पार्टीको निर्माण माथिबाट गर्नुपर्ने थियो। धेरैजसो कमिटीहरू सम्पूर्ण रूपले नयाँ बनाउनु पर्ने थियो। तर कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन। जसले गर्दा व्यक्तिको मूल्याङ्कन मनोगत हुने अवस्था आयो।’