Breaking

जीबी राईसँग मिलेर रवि लामिछाने ठगीमा संलग्न रहेको देखिने थुप्रै प्रमाण छन् : गगन थापा


काठमाडौँ— नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको देखिने थुप्रै प्रमाणहरू रहेको दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारीहरूको बैठकपछि महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाण सरकारी कार्यालयमै रहेको जिकिर गरे ।

जीबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायतका सहकारीका हजारौँ बचतकर्ताको करोडौँ रुपैयाँ गोरखा मिडिया लगायत संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको हाम्रो दाबी छ । यसमा हामीलाई कुनै पनि द्विविधा छैन, थापाले भने ।

उनले तथ्य र प्रमाण खोज्न कतै जान नपर्ने पनि बताए । रूपन्देहीको जिल्ला प्रहरीले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदन, सीआईबीले गरेको अनुसन्धान, पोखरा महानगरले तयार पारेको प्रतिवेदनले लामिछाने संलग्न रहेको देखाउने दाबी कांग्रेसको छ ।

यसैगरी, लामिछानेले गरेको हस्ताक्षर, ल्याप्चेलगायतको परीक्षण गर्नका लागि कम्पनी रजिस्टारको कार्यालयले सम्पत्ति शुद्धीकरण र प्रहरीलाई गरेको अनुरोध, लामिछानेको हस्ताक्षर भएका कागजात र पत्रहरूबाट उनी ठगीमा संलग्न रहेको प्रमाणित हुने कांग्रेसको भनाइ छ ।

यी यति धेरै तथ्य र प्रमाणहरू छन्, तथ्य र प्रमाणहरू खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ, थापाले भने ।

यिनै तथ्यहरूका आधारमा संसदीय समितिमा लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगी संलग्न रहेको प्रमाणित थापा बताउँछन् ।