Breaking

अमेरिकन डलर भनी कागजको बिटो दिएर ५ लाख ठगी, ५ जना पक्राउ


काठमाडौँ— अमेरिकन डलर भन्दै कागजको बिटो दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ३५ वर्षीय धनकृष्ण शिवभक्ती, सोही ठाउँका ५६ वर्षीय दातेम्बा शेर्पा, बाह्रबिसे-३ का ४० वर्षीय हरेराम भुजेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ का ४१ वर्षीय गणेश बहादुर विक र मकवानपुरको इन्द्रेणी गाउँपालिका-३ कि ५५ वर्षीया मीना तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको तार्केश्वरस्थित डाँडागाउँबाट पक्राउ गरेको हो ।

उनीहरुले दोलखाको मेलुङ गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने ३१ वर्षीय रवीन्द्र कोइरालालाई सस्तोमा डलर साटिदिने भन्दै ठगी गरेको आरोप छ ।

गत चैतदेखि निरन्तर फलो गर्दै आफूहरु साढे १५ लाख डलर रहेको र सस्तोमा साटिदिने भन्दै कागजको बिटो दिएर पाँच लाख ठगी गरेको आरोप छ ।

डलर साटिदिने भन्दै भक्तपुरको ठिमी नगरपालिका–४ स्थित कोरियन अस्पताल पछाडि लगेर वैशाख ६ गते पाँच लाख रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

बाहिर अमेरिकी डलर र भित्र भने कागजको बिटो दिएर उनीहरुले ठगी गरेको खुलेको छ । यही समूहले यसअघि गत मंसिर २१ गते गोठाटारमा फर्निचर कारखाना सञ्चालन गरी आएका धीरेन्द्र ठाकुरलाई यही शैलीमा ४ लाख ठगी गरेको समेत खुलेको छ ।