Breaking

सन्दीपलाई झनै अन्याय ! फैसलामा किन विलम्ब ?


नेपालका युवा लेगस्पीनर सन्दीप लामिछानेको मुद्दाको फैसला आउन बिलम्ब भएको भन्दै व्यापक विरोध भइरहेको छ । जिल्ला अदालतले दोषी ठहर गरेको फैसलाविरुद्ध न्यायका लागि उच्च अदालत पाटन पुगेका सन्दीपमाथिको फैसला यथाशक्य चाडो गराउन अहिले न्यायालयमाथि दबाव बढिरहेको छ ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका युवा लेगस्पीनर सन्दीप लामिछानेले अहिले सामाजिक सञ्जालमा आफ्ना निराशा व्यक्त गरिरहेका छन् । बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेसँगै निलम्बनमा परेका सन्दीपको चुनौतीपूर्ण स्टाटसहरू निरन्तर सञ्जालभरि चर्चित बनिरहेको छ । टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा मन्द मुस्कानसहितको हसिलो इमोजी पोष्ट गरेका सन्दीपले त्यसपछि लगातार दुई दिन दुई पोष्ट गर्दै आफू षड्यन्त्रको सिकार भएको र त्यसमा भूमिका खेल्नेहरुको नाम खुलाउने बताए । त्यसको पाँचदिन पछि अर्थात् वैशाख २५ गते फेरि आफूलाई न तथ्य न त प्रमाणको आधारमा दोषी ठहराएको भन्दै महिला अधिकारकर्मीमाथि निसाना साध्दै घटना घटेको भन्दा पनि घटाइएको अभिव्यक्त सार्वजनिक गरे । विश्वकप खेल्ने दिन नजिकिँदै जाँदा सन्दीपमा देखिएको यो छटपटाहट अहिले उनीमात्रै सीमित छैन ।

उनका पक्षमा अहिले देशैभर आजाव उठिरहेको छ । संघीय राजधानी काठमाडौंमा देखिएको प्रदर्शनदेखि सुदूरपश्चिम अछाममासमेत उनको न्यायका लागि समर्थकहरू सडकमा उत्रिरहेका छन् । १० वर्षपछि नेपाली टोलीलाई विश्वकपको मञ्चमा पु¥याउनका लागि ठूलो योगदान दिएका सन्दीपको पहिलो पटक विश्वकप खेल्ने सपना अदालतको फैसलाकै कारण चक्नाचुर बन्दै गर्दा न्यायालयमाथि अबिलम्ब फैसला गर्नु पर्ने भन्दै दबाव बढ्दै गएको छ । यदि चाडो मुद्दाको छिनोफानो भएर सन्दीपले सफाइ पाएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) उनलाई टोलीमा समेट्ने पक्षमा देखिँदा न्यायालयको फैसला नै अहिले उनको विश्वकप खेल्ने चाहनाको बाधक बनिरहेको छ ।

‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो’ भन्दै अहिले सार्वजनिक रुपमा अदालतमाथि चौतर्फी प्रश्न उठिरहेको छ । यसअघि १८÷१९ पटकसम्म पेशी तोकेर जिल्लाले सन्दीपलाई आठ वर्षको जेल सजाएको फैसला सुनाएको थियो । त्यस्तै अहिले उच्च अदालत पाटनले पहिलो नम्बरमा नै भएको उनको मुद्दा दुई पटक हेर्न नमिल्ने र एकपटक हेर्न नभ्याइनेमा राखेको थियो । अझै पनि जेठ ७ गतेसम्म सन्दीपले विश्वकप खेल्न जाने केही सम्भावनाहरू छन् । जेठ १ गते अन्तिम सुनुवाइको मिति तोकेको न्यायालयले चाहे अग्राधिकार प्रयोग गरेर सन्दीपको मुद्दाको फैसला सुनाउन सक्छ ।

न्यायालयको फैसला र कामलाई लिएर बहसमा रहिरहेको विचाराधीन मुद्दामाथि टिकाटिप्पणी गर्नु गैरकानुनी हुने कानुनले व्याख्या गरे पनि वरिष्ठ अधिवक्तादेखि आमसर्वसाधारणले नै अदालतमाथि प्रश्न उठाइरहेका छन् । दोषी भए कानुनी सजाय र निर्दाेष भए सफाइ दिएर विश्वकप खेल्ने बाटो खुलाइ दिनु पर्ने अधिकांशको माग छ । अदालतले आफ्नो मुद्दाको फैसलामा बिलम्ब गरेपछि आफैँलाई फाँसी चढाउनु पर्नेसम्मको असन्तुष्टि पोखिरहेका सन्दीपदेखि अन्य सबै सरोकारवालाहरूले पनि अदालतबाहिर नै अनशन बस्न जानेसम्मको गतिविधि गर्दै न्यायालयमाथि दबाव दिइरहेका छन् । यो दबाब सन्दीपको पक्षमा फैसला आओस् भन्ने भन्दा पनि छिटोभन्दा छिटो मुद्दालाई किनारा लगाउन आएको रुपमा बुझ्न सकिन्छ । यद्यपि, सन्दीपको पुनरावेदनमा आगामी जेठ १ गते उच्च अदालतले कस्तो फैसला गर्छ वा फेरि पेसी सार्छ ? त्यसका लागि भने केही दिन कुनै पर्नेहुन्छ ।