Breaking

जसपाको फुट : प्रचण्ड भन्छन्–‘ओलीको दबाब थेग्न सकिनँ’, उपप्रधानमन्त्रीमा दुबै पक्षको लडाईं (भिडियोसहित)


काठमाडौँ— जनता समाजवादी पार्टीबाट टुक्रिएका दुबै पक्षले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीको भाग खोज्दा पार्टी विभाजनको औचित्यमै प्रश्न उठेको छ । उपेन्द्र यादवको उपप्रधानमन्त्री खोस्न अशोक राई लागिपर्दा दुबै पक्षका थ्रेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने थप तनावमा परेका छन् ।
न कुनै राजनीतिक एजेण्डा, न सैद्धान्तिक बेमेल । फगत व्यक्तिगत तुष, पार्टीको हाकिम बन्न चाहने पुरानै प्रवृत्ति र सत्ता स्वार्थका लागि पार्टी फुुटेको स्पष्ट भइसकेको छ । यसले न कुनै राजनीतिक ध्रुवीकरणको एजेण्डा नै बोकेको छ, न त कुनै स्थिरतामा बल पुग्ने गरिको नतिजा नै यो फुटले दिन्छ । मधेशवादी दलहरु स्वार्थ मिले जनसुकै बेला पनि फुट्न सक्छन्भन्ने उदाहरणको निरन्तरता मात्रै भएको देखिएको छ ।
रोचक त के छ भने अहिले फुटेका दुबै पक्षले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाइराख्ने बताइरहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमै रहेका बेला अशोक राईले निष्क्रिय भइसकेको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई आधार मान्दै पार्टी दर्ताका लागि निवेदन दिए । निर्वाचन आयोगले पनि ढिला नगरी मान्यता दिइहाल्यो । अब अहिले उपेन्द्रलाई उपप्रधानसहित आफ्नो मन्त्री खोसिने चिन्ताले पिरोल्न थालेको छ । अमेरिका भ्रमणबाट फर्किएलगत्तै उनले प्रचण्डसँग भेट गरे । पार्टी फुटमा भूमिका खेलेको भन्दै प्रचण्डसँग दुखेसो नै पोखे । तर प्रचण्डले भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले पार्टी नै फुटाउनसम्म नजान आग्रह गरे पनि नमान्दा ओलीकै लहलहैमा पार्टी विभाजन गर्न बाध्य भएको जवाफ दिएपछि उपेन्द्र कन्भिन्स भएका छन् । यसपछि उनी सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने पक्षमा पुगेका छन् । उनले आफ्नो उपप्रधानमन्त्री पद नगुम्ने सुनिश्चितता माग्दै अरु कुनै चाल चाले अस्थिरताको जिम्मा लिन प्रचण्डलाई चेतावनी दिएका छन् ।

यस्तै चोइटिएको अर्को अशोक राई पक्षले पनि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय लिइसकेको छ । माधवकुमार नेपालसँग मिलेर अहिलेको समीकरण भत्काउन उपेन्द्र यादव लागेकाले पार्टी फुटाएको बताउने सो समूहले गठबन्धनकै लागि कुर्बानी गरेकाले भाग पाउनुपर्ने अडान राख्न थालेको छ । अहिले राई पक्षबाट सरकारमा एक मन्त्री छन् । यसबाहेक राई आफैँ उपप्रधानसहित सम्मानजनक मन्त्रालय लिन चाहिरहेका छन् । राईलाई एमाले अध्यक्ष ओलीले उपप्रधानसहित अन्य मन्त्रीको ललिपप देखाएर पार्टी फुटाउन लगाएकाले त्यही माग प्रचण्डसँग राखिरहेको छ । राई यसअघि पनि एमालेकै नेता भएकाले भविष्यमा एमालेमै पार्टी विलय गराउँदै संसदको सबैभन्दा ठूलो दल एमालेलाई बनाउने रणनीतिमा ओली लागेका छन् । तर त्यसका लागि केही संख्या कम हुने भएकाले एकीकृत समाजवादीका नेता तान्ने प्रयास पनि जारी छ । अशोक राई नेतृत्वको जसपाले उपेन्द्र यादव पक्षले पाएका मन्त्रालय खोसिनुपर्ने माग गरेको छ ।

अहिले प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउनकै लागि रवि लामिछानेलाई जोगाउनेदेखि कांग्रेस फकाउनेसम्मका चुनौतीमा रहँदा जसपा फुटाएर ओलीले ल्याइदिएको रडाको साम्य पार्नेसम्मको तनावमा देखिएका छन् । ओली र प्रचण्डले भनेजस्तो यही समीकरण आगामी निर्वाचनसम्मै लैजाने हो भने जसपाका दुबै पक्षको माग सम्बोधन गर्नु पर्ने बाध्यात्मक अवस्था छ । जुन मन्त्रिपरिषद् र समग्र गठबन्धनकै विषय बन्ने निश्चित छ ।