Breaking

जसपाको फुट : प्रचण्ड भन्छन्–‘ओलीको दबाब थेग्न सकिनँ’, उपप्रधानमन्त्रीमा दुबै पक्षको लडाईं (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— जनता समाजवादी पार्टीबाट टुक्रिएका दुबै पक्षले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीको भाग खोज्दा पार्टी विभाजनको औचित्यमै प्रश्न उठेको छ । उपेन्द्र यादवको उपप्रधानमन्त्री खोस्न अशोक राई लागिपर्दा दुबै पक्षका थ्रेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने थप तनावमा परेका छन् ।
न कुनै राजनीतिक एजेण्डा, न सैद्धान्तिक बेमेल । फगत व्यक्तिगत तुष, पार्टीको हाकिम बन्न चाहने पुरानै प्रवृत्ति र सत्ता स्वार्थका लागि पार्टी फुुटेको स्पष्ट भइसकेको छ । यसले न कुनै राजनीतिक ध्रुवीकरणको एजेण्डा नै बोकेको छ, न त कुनै स्थिरतामा बल पुग्ने गरिको नतिजा नै यो फुटले दिन्छ । मधेशवादी दलहरु स्वार्थ मिले जनसुकै बेला पनि फुट्न सक्छन्भन्ने उदाहरणको निरन्तरता मात्रै भएको देखिएको छ ।
रोचक त के छ भने अहिले फुटेका दुबै पक्षले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाइराख्ने बताइरहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमै रहेका बेला अशोक राईले निष्क्रिय भइसकेको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई आधार मान्दै पार्टी दर्ताका लागि निवेदन दिए । निर्वाचन आयोगले पनि ढिला नगरी मान्यता दिइहाल्यो । अब अहिले उपेन्द्रलाई उपप्रधानसहित आफ्नो मन्त्री खोसिने चिन्ताले पिरोल्न थालेको छ । अमेरिका भ्रमणबाट फर्किएलगत्तै उनले प्रचण्डसँग भेट गरे । पार्टी फुटमा भूमिका खेलेको भन्दै प्रचण्डसँग दुखेसो नै पोखे । तर प्रचण्डले भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले पार्टी नै फुटाउनसम्म नजान आग्रह गरे पनि नमान्दा ओलीकै लहलहैमा पार्टी विभाजन गर्न बाध्य भएको जवाफ दिएपछि उपेन्द्र कन्भिन्स भएका छन् । यसपछि उनी सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने पक्षमा पुगेका छन् । उनले आफ्नो उपप्रधानमन्त्री पद नगुम्ने सुनिश्चितता माग्दै अरु कुनै चाल चाले अस्थिरताको जिम्मा लिन प्रचण्डलाई चेतावनी दिएका छन् ।

यस्तै चोइटिएको अर्को अशोक राई पक्षले पनि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय लिइसकेको छ । माधवकुमार नेपालसँग मिलेर अहिलेको समीकरण भत्काउन उपेन्द्र यादव लागेकाले पार्टी फुटाएको बताउने सो समूहले गठबन्धनकै लागि कुर्बानी गरेकाले भाग पाउनुपर्ने अडान राख्न थालेको छ । अहिले राई पक्षबाट सरकारमा एक मन्त्री छन् । यसबाहेक राई आफैँ उपप्रधानसहित सम्मानजनक मन्त्रालय लिन चाहिरहेका छन् । राईलाई एमाले अध्यक्ष ओलीले उपप्रधानसहित अन्य मन्त्रीको ललिपप देखाएर पार्टी फुटाउन लगाएकाले त्यही माग प्रचण्डसँग राखिरहेको छ । राई यसअघि पनि एमालेकै नेता भएकाले भविष्यमा एमालेमै पार्टी विलय गराउँदै संसदको सबैभन्दा ठूलो दल एमालेलाई बनाउने रणनीतिमा ओली लागेका छन् । तर त्यसका लागि केही संख्या कम हुने भएकाले एकीकृत समाजवादीका नेता तान्ने प्रयास पनि जारी छ । अशोक राई नेतृत्वको जसपाले उपेन्द्र यादव पक्षले पाएका मन्त्रालय खोसिनुपर्ने माग गरेको छ ।

अहिले प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउनकै लागि रवि लामिछानेलाई जोगाउनेदेखि कांग्रेस फकाउनेसम्मका चुनौतीमा रहँदा जसपा फुटाएर ओलीले ल्याइदिएको रडाको साम्य पार्नेसम्मको तनावमा देखिएका छन् । ओली र प्रचण्डले भनेजस्तो यही समीकरण आगामी निर्वाचनसम्मै लैजाने हो भने जसपाका दुबै पक्षको माग सम्बोधन गर्नु पर्ने बाध्यात्मक अवस्था छ । जुन मन्त्रिपरिषद् र समग्र गठबन्धनकै विषय बन्ने निश्चित छ ।