Breaking

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र


काठमाडौँ— कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ ।

गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वतस् पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरेको तर आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न प्रदेश सभा अधिवेशन आह्वान नगरेको आरोप लगाएका छन् ।

पत्रमा भनिएको छ, ‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’