Breaking

पार्टी विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने


काठमाडौँ— जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनविरुद्ध अदालत जाने भएका छन् ।

यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । नवगठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।

तर कानुनी रिक्तताको अवस्थामा निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै उपेन्द्र यादव अदालत जान लागेका हुन् ।

जसपाका प्रवक्ता मनीष सुमन भन्छन्, ‘कानुनी उपचार खोज्ने तय भइसकेको छ । तयारीका लागि एकरदुई दिन लाग्न सक्छ ।’

२०७८ साल भदौमा एमालेबाट एकीकृत समाजवादी बन्दा अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरिएको थियो । अध्यादेश जारी भएपछि प्रतिस्थापन विधेयक आएर कानुनमा रूपान्तरित हुन सकेन । प्रचलित व्यवस्था जगाउने कार्यसमेत भएको छैन ।

यसलाई देखाएर जसपा नेपालले पार्टी विभाजनलाई अवैधानिक भन्दै आएको छ ।

निर्वाचन आयोगले भने नवगठित जनता समाजवादी पार्टीलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा ५ बमोजिम दर्ता गरेको जनाएको छ ।

जसपा नेपालले विकसित घटनाक्रमका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार बिहान साढे ११ बजे पत्रकार सम्मेलनको आयोजना पनि गरेको छ ।