Breaking

माधवको पार्टी फुटाउँदै ओली, प्रचण्डको पनि धोका, पाँच सांसद पाए झलनाथले फुटाउलान् पार्टी ?


काठमाडौँ – सत्ता गठबन्धन टिकाउन साना दल फुट्ने क्रम बढ्दा त्यसको सिकार नेसपा र जसपा बनेका छन् । त्यस्तै हालतमा नागरिक उन्मुक्ति पार्टी पुग्दा नेकपा एकीकृत समाजवादीमाथि पनि प्रश्न उठेको छ । पार्टीभित्र देखिरहेको फरक धार र माधवकुमार नेपाल गठबन्धन टुटाउने खेलमा लाग्दा यो जोखिम बढेको हो । जसका लागि माओवादी नेताहरु नै लागि परेको सम्मको खबर बाहिरिँदा के एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

पार्टीभित्र असन्तुष्टि रहे पनि अनपेक्षित समयमा जनता समाजवादी पार्टी (जसपा) फुटेपछि नेकपा एकीकृत समाजवादी पनि तर्सिएको छ । जसपा नेपाल विभाजनपछि अशोक राईको नेतृत्वमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ । जसले वैकल्पिक गठबन्धनको च्याप्टर बन्द हुँदा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एउटा रणनीतिमा धक्का लागिसकेको छ । जसले नेपाली कांग्रेस सत्तामा फर्किने बाटो र प्रधानमन्त्री हुने माधवको सपनामा पनि ब्रेक लागेको छ । जसपा फुट्नुमा कांग्रेसले प्रधानमन्त्री बन्ने भए माहोल बनाउन नेपाललाई भनेको र जसपा जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने अवस्थाबाट बच्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको खेलकै रुपमा हेरिएको छ । मुख्य कुरा त सत्ताकै लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रचण्डले यसअघि नै फुटाइदिएका थिए भने नागरिक उन्मुक्ति पार्टीको हालत पनि उस्तै छ ।

जसले गठबन्धन नै फुटाउने सपना देखेका माधवकुमार नेपालको पार्टी बच्ला त भन्ने प्रश्न उठ्दा उनको पार्टी ६०÷४० को हाराहारीमा विभाजन हुने निश्चित रहेको चर्चा शुरु भएको छ । एकीकृत समाजवादीका सांसदहरु प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवर विद्रोह गर्ने मुडमा छन् । उनीहरुले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वको जिम्मेवारी दिएर माधव नेपालसँग विद्रोह गर्ने तयारी गरेको दाबी गरिएको छ । त्यस्तै, माधव नेपालसँग राजेन्द्रप्रसाद पाण्डे, अम्मरबहादुर थापा, मेटमणी चौधरीमात्रै रहने बताइँदा सोमबार खनाल निवासमै पुगेर अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले भेट गरेपछि माधव पनि झस्किएका छन् । भेटमा पुनले ५ जना सांसद पु¥याइदिने आश्वासन खनाललाई दिएको खबरसमेत बाहिरिएको छ । यद्यपि खनालले त्यसको खण्डन गरेका छन् भने पार्टी नफुट्ने समाजवादीका नेताहरु बताउँछन् ।

झलनाथ खनालले भेटमा वामपन्थी एकताको कुरा भएको बताउनु तथा माधव र ओली त्यसको विरुद्धमा देखिँदा खतरा उत्तिकै छ । जुन जसपा विभाजनले आफ्नो पार्टीमा आउन लागेको भूकम्प रोकिएको खनालको भनाइमै सीमित हुने सम्भावना न्यून रहँदा माधव नेपालले संसदीय दलको बैठक नै बसाएका छन् । आफ्नै साथी भनिएका उपेन्द्र यादवमाथिको प्रहारले अर्को चस्का माधवमा लाग्दा इलाम २ मा टिकट नपाउँदा पनि चुप बसेका खनालका गतिविधि स्वभाविक देखिँदैनन् । जुन मिल्ने हैन निल्ने बाटोमा रहेका ओलीको रणनीति साथै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर जनता समाजवादी पार्टी दर्ता गराएका अधिकांश नेताहरु एमाले पृष्ठभूमिका हुनु पनि संयोग मात्रै मान्न सकिने अवस्था छैन । जहाँ महाधिवेशन नजिकिँदा अध्यक्ष पदका लागि नेता खनाल पनि उठ्ने तयारीमा छन् ।

त्यहीअनुसार समाजवादीले ७० वर्षे उमेर हदको प्रावधान पनि हटाइसकेको छ । अध्यक्षका लागि खनाल र नेपाल भिड्ने अवस्था आएपछि दोस्रो तहका अन्य नेतामा भने गहिरो अलमल देखिएको छ । यसले पनि तय गर्न सक्ने बाटोको संकेत मिल्दा एकीकृत समाजवादीका बहुसंख्यक सांसदहरुले पुरानै घर फर्किनका लागि लबिङ गरिरहेका एमाले नेताहरुले पनि बताउँदै आएका छन् । जसले नेसपा र जसपाको रोग एकीकृत समाजवादीमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

हुन त ओलीको प्रहार खनाललाई नभई नेपाल लक्षित बन्दै गएकोसमेत प्रष्ट छ । त्यस्तै यो गठबन्धन टुटे किनाराकृत हुने डरमा प्रचण्डमा देखिँदा कसै गरी समीकरण बचाउनुपर्ने दबाबमा उनी छन् । त्यस्तै ठूलो पार्टी हुन सक्ने सम्भावनाले ओलीसमेत यसका लागि हौसिँदा फुटको औचित्य पुष्टि गर्न नसकेको दबाबमासमेत एकीकृत समाजवादी छ । जसको खतरा माधवको सक्रियताले रोक्ला त ? यसको उत्तर भने वैकल्पिक समीकरणको बाटो बन्द भएर एकीकृत समाजवादी सत्तामै टासिनु पर्ने बाध्यताले दिएको छ ।