समाचार

भीआइपीबाट हिरासत छल्ने प्रवृत्ति बढेपछि गृहमन्त्रालयद्वारा निर्देशन जारी


काठमाडौं । पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पतालमा भर्ना हुन नपाइने भएको छ ।

यसअघि उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानका लागि पक्राउ पर्नेवित्तिकै अस्पताल भर्ना भएर हिरासत छल्ने प्रवृत्ति देखिएपछि त्यसलाई रोक्न गृहमन्त्रालयले तीन बुँदे निर्देशन जारी गरेको हो ।

गृह मन्त्रालयका अनुसार अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा लैजाने निर्णय भएको छ ।

अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने–नपर्ने सम्बन्धमा निर्णय गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

निर्णय कार्यन्वयनमा ल्याउन आजै नेपाल प्रहरीसहित मातहतका निकायलाई परिपत्र गर्ने तयारी मन्त्रालयले गरेको छ ।।