Breaking

रविको गफै बढी, गृहमा आएन नतिजा, प्रहरी हायलकायल, काण्ड जति सबै सामसुम


काठमाडौँ – राजनीतिक परिस्थितिका कारण दोस्रो पटक गृहमा कमब्याक गरेका रवि लामिछानेले गृहमन्त्रालय सम्हालेको दुई महिना पुगेको छ । वर्षदिनपछि पुनः गृहमा फर्किएका रविको सुरुवाती दिन जति आक्रामक थियो, पछिल्लो समय त्यो केही मत्थर हुँदै गएको छ । त्यसबेला जति वाहावाही बटुलेका थिए, दुई महिने यात्रा परिणामका हिसाबले त्यति नै खल्लो पनि रह्यो । नागरिकको आशा भरोसामा खरो उत्रिन खोजेका रवि नै गृहमा रहँदा नागरिक असुरक्षित बन्न पुगेका छन् । कर्मचारीको सरुवा–बढुवादेखि रविको सुशासन नै शंकास्पद ठहरिएको छ ।

डेढ महिनाअघि सुन जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दा गृहमन्त्री रवि लामिछानेको जोस नै बेग्लै थियो । पुनः सुन जाँचबुझ आयोगको प्रतिवेदन अक्षरस कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका थिए । चैत्र एक गते सुनको प्रतिवदेन हात परेपछि ठूला माछाहरु नछाड्ने उद्घोष गरेका गृहमन्त्री रविले प्रतिवेदन बुझेको पाँचौ दिन चैत पाँच गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र माओवादी केन्द्रका उपाध्यक्ष एवंम पूर्वसभामुख कृष्णबहादुर महरालाई नै हिरासत पु¥याई दिए । लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परे ।


वर्षदिनपछि गृहमा कमव्याक गरेका गृहमन्त्री रविको यो आक्रामक सुरुवातले सर्वत्र वाहावाही बटुल्न सफल भयो । तर अहिले सुन आयोगको प्रतिवेदन कार्यान्वयनमा लगेको डेढ महिना बित्दा महरा छुटे अन्य ठूला माछाहरु को कहाँ छन् ? अत्तोपत्तो छैन । राज्यकोषको झन्डै ४५ लाख खर्र्चिएर तयार पारिएको प्रतिवेदनको फाइल स्वयम् गृहमन्त्री रविकै आदेशमा गायब पारिएको चर्चा छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै ‘आदेश’मा उक्त फाइल लुकाइएको समाचार सार्वजनिक भइरहेका छन् । प्रतिवेदन हात परेलगत्तै अध्ययन गरिसकेको बताएका गृहमन्त्री लामिछानेको अध्ययन क्षमतामाथि नै प्रश्न उठ्ने थालेको छ ।

विगतमा सञ्चारकर्ममा हुँदा नेतालाई गालीगलौज गर्दै थुकेरै आगो निभाउन भ्याउने रवि अहिले आफैँ गृहमन्त्री हुँदा २० दिनमा डढेलोमा परेर २० जनाको ज्यान जाँदा रमिते बनेका छन् । डढेलो नियन्त्रणका लागि स्रोत साधन अभावको गुनासो गर्ने, आगो निभाउन हेलिकप्टरको प्रयोग र पीडितलाई राहतको प्रस्ताव जस्ता औपचारिकताले गृहमन्त्री रवि प्रश्नको घेराबन्दीमा छन् । यसका साथै दिनदहाडै गोली चल्छ, रविको सुरक्षा संयन्त्रले सुइको पाउँदैन । झापामा परीक्षा दिएर घर फर्किंदै गरेकी एनिका अधिकारीमाथिको आक्रमणले नागरिकको सुरक्षामाथि प्रश्न उठेको छ ।

अर्को भंैसेपाटीमा दिनदहाडै चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्समा भएको आक्रमणले पनि आतंक फैलाएको छ । हतियार विवादमासमेत मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सीजी फुड्समा आफ्नो समूहले आक्रमण गरेको भन्दै खुलेआम चुनौति दिँदासमेत गृहमन्त्री लामिछाने निरीह जस्तै देखिएका छन् । दुर्गाको अराजकतामाथि गृहको अस्वभाविक मौनता टिठ लाग्दो छ ।

सत्तामा पुगेलगत्तै उनका लागि गलपासो बनेको सहकारी प्रकरण सल्टाउने विषयमा रवि चुप छन् । सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई विदेशबाट झिकाएर आफू चोखिने आँट रविले गर्न सकेका छैनन् । जीबी राई झिकाउन मलेसियासँग मन्त्रीस्तरमै संवाद गरे पनि नतिजा शून्य छ । सहकारी प्रकरणमा आफ्नो नेता मुछिएपछि राप्रपाले कारबाही गर्ने चुनौती दिए पनि रवि र उनको पार्टी रास्वपा भने निरीह देखिन्छ । रविको सुशासन अलपत्र अवस्थामा छ । यद्यपि, सुशासनका सवालमा सुँगा रटान छाडेका छैन्न । नयाँ फाइल खोल्ने त आँट धेरै परको कुरा अघिल्लो सरकारले खोलेका फाइलहरुसमेत अघि बढाउन उनले सकेका छैनन् ।

प्रहरीको सरुवा बढुवामा नाङ्गो नाच देखाएका रवि एकपछि अर्काे प्रकरणमा आफैँ नाङिगदै गएका छन् । विकल्प दिन्छु भन्ने रवि सत्तामा पुगेर पनि उही पदमा विकल्प बन्ने बाहेक नागरिकले पत्याउने काम गर्न असफल बन्दै गएका छन् । रविका केही मन्त्रीले नतिजा दिने गरी काम गर्न नसके पनि सधैँ चर्चामा रहने रवि अहिले आफैँ ओझेलमा पर्न थालेका छन् । ‘जुन जोगी आए पनि उही’ भनेझै रवि पनि पुरानै पार्टी र तीनै पार्टीका नेता–मन्त्री भन्दा फरक नदेखिएको टिप्पणी भइरहेको छ ।।