Breaking

एमालेको जितले मिलेको कांग्रेस फुट्यो, गगन–विश्वको थाप्लोमा अपजस, समीक्षामा रस्साकसी पक्का


काठमाडौँ— इलाम र बझाङको उपचुनावपछि दुवै स्थानमा जित हात पारेको नेकपा एमाले उत्सव मनाइरहेको छ भने जमानत नै जोगाउन नसकेका अन्य दलहरु चुनावी समीक्षामा जुटेका छन् । यता उपचुनावमा आफ्नै जनमत जोगाउन नसक्दा हार व्यहोरेको कांग्रेस चुनावी समीक्षामासमेत मौन देखिएको छ ।

२०७९ को आमचुनावमा झिनो मतान्तरले हारेका डम्बरबहादुर खड्का उपचुनावमा कांग्रेसले जित्नेमा ढुक्क थिए । २६ वर्षपछि इलाम–२ कांग्रेसको कब्जामा ल्याउनेमा निर्धक्क थियो । निर्वाचनमा गठबन्धन नगर्ने भनि महासमिति बैठकबाट पारित प्रतिवेदन इलामबाट अनुमोदन गराउन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा आफैँ इलाम पुगेका थिए । विश्वप्रकाश शर्मा आफैँ चुनावी कमाण्डर बनेर डम्बर खड्का जिताउन खटिएका थिए । शेखर कोइराला आफँै धर्मगुरु आत्मनन्दको आश्रममा आर्शिवाद लिनसम्म पुगे । चुनाव जित्न अनेक हत्कण्डा अपनाएको कांग्रेस अन्ततः आफ्नै जनमत जोगाउन असफल बन्यो भने सभापति शेरबहादुर देउवाको आर्शिवादले पटक पटक टिकट हात पारेका डम्बर फेरि चुनाव हार्न पुगे । खड्काको हारलाई केहीले पार्टीभित्रैको अन्र्तघात भनेका छन् । इलाममा एमालेका सुहाङ नेम्वाङ सहानुभूतिको भोट बटुल्दै बुवाको विरासत बोकेर सदन छिर्दा बझाङमा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले बाबुको विरासत जोगाउन सकेनन् । गत आमचुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार बढी मत लिएर चुनाव जितेको क्षेत्रमा पृथ्वीकै छोरा अभिषेक एमालेसँग २ सय ६७ मतान्तरले पराजित भए । गत चुनावमा दुवै निर्वाचन क्षेत्रमा बलियो जनमत भएको कांग्रेस उपचुनावमा आफ्नै जनमत जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । उपचुनाव र कांग्रेसको हारबारे घनिभूत छलफल हुने अपेक्षा नेताहरुको छ ।

नेताहरु चुनावी समीक्षाको प्रतिक्षामा छन् । कांग्रेस मिलेर कम्युनिस्ट पछार्ने रणनीतिमा असफल भएपछि महामन्त्रीद्वय गगन–विश्व प्रश्नको घेराबन्दीमा मात्र छैनन्, उनीहरुको राजनीतिक हैसियतमाथि नै प्रश्न तेर्सिएपछि तैचुप मैचुपको अवस्थामा छन् । तेस्रो पटक निर्वाचनमा होमिएका डम्बर खड्कालाई जिताउने जिम्मा लिएका महामन्त्री शर्मा अहिले गुमनाम छन् । चुनावमा आफ्नो जनमतसमेत जोगाउन नसकेका दलहरु चुनावी समीक्षामा सक्रिय बन्दा आफ्नै मत जोगाउन नसकेको कांग्रेस चुपचाप छ । गुट उपगुटले ग्रस्त कांग्रेस आफ्नै कारण हारेको बहस चर्चामा छ । तनहुँ र चितवनमासमेत असफल महामन्त्रीहरुको नीति र नेतृत्वमाथि प्रश्न चिह्न खडा भएको छ । कांग्रेसभित्रै चुनाव हार्नु वा कांग्रेसको हालतको जिम्मेवारी नेतृत्व नै भएको ठान्नेहरुको जमात ठूलो छ ।

यसअघि पनि पटक पटक चुनाव हारेका खड्कालाई उम्मेदवार बनाएका सभापति देउवा उपचुनावमा महामन्त्रीद्वयको रणनीतिलाई अस्त्र बनाएर पार्टीभित्र थप पेल्ने मनस्थितिमा छन् । निरन्तर पार्टीपंक्तिको प्रहारमा परे पनि देउवा मुखदर्शक छन् । तथापि, पार्टीभित्रको गुटबन्धीलाई गाली गर्न र पार्टी एकढिक्का हुनु पर्ने सन्देश चाहिँ देउवाले दिन थालेका छन् ।

उपचुनाव प्रचार तथा सभामा सहभागी नभए पनि महामन्त्रीद्वय तथा शेखर कोइरालालाई परिचालन गरेका देउवाले उनीहरुको हैसियत जाँच्ने अवसरको रुपमा पनि प्रयोग गरेको देखिन्छ । इलामबाट गोदावरीको एजेन्डा अनुमोदन गराउने उद्देश्य असफल बन्दा सिंगो कांग्रेसमा सन्नाटा छाएको छ । आमनिर्वाचनमा प्राप्त आफ्नै मतसमेत जोगाउन नसकेको कांग्रेस उपचुनावको समीक्षामा कहिले जुट्छ ? यो सबैको चासोको विषय बनेको छ । साथै कांग्रेसले यसलाई कसरी व्याख्या गर्दै आगामी रणनीति तय गर्छ ? त्यो भने हेर्न बाँकी छ ।